काठमाडौं । एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको तेस्रो खेलमा नेपाललाई आयोजक थाइल्याण्डले जितका लागि ६७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा अलआउट हुँदै ६६ रन बनायो ।
थाइल्याण्डका लागि हेन्नो जोर्डनले १३ रन जोडे । फिरियापोङ सुआनचुईले पनि अविजित १३ रन बनाए । यस्तै नाभिद पठानले ८ रन जोड्दा जिउल हकले ५ रन बनाए ।
नेपालका करण केसीले ३ विकेट लिए । अविनाश बोहराले २ विकेट लिंदा भुवन कार्की र सन्दीप लामिछानेले १/१ रन बनाए ।
यस लक्ष्य टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले विपक्षीबाट पाएको सर्वाधिक कम लक्ष्य हो ।
आज नेपाल पहिलो जितको खोजीमा रहेको छ । प्रतियोगिताबाट बाहिरिसकेको थाइल्याण्डलाई भन्दा नेपाललाई यस खेल निकै महत्वपूर्ण रहेको छ ।
नेपाल यस प्रतियोगिताबाट उपाधि जित्दै एसिया कप छनोटमा पुग्न चाहन्छ ।
पाँच राष्ट्र सहभागी इस्टर्न रिजनको फाइनल पुग्ने दुई टिमले एसिया कप छनोटमा स्थान बनाउने छन् ।
त्यसैले शीर्ष दुईमा स्थान बनाउन नेपाललाई थाइल्याण्डविरुद्ध जित निकाल्नुको विकल्प छैन । नेपालले जित निकालेर पनि शीर्ष दुईमा स्थान बनाउन सक्ने छैन ।
नेपाललाई अन्य टोलीको नतिजामा पनि भर पर्नु पर्नेछ ।
मुख्यत नेपालले शीर्ष दुईमा स्थान बनाउन हङकङको भर पर्नु पर्नेछ । हङकङले बाँकी रहेको खेलमा फराकिलो जित हात पारे नेपालले शीर्ष दुईमा स्थान बनाउने समिकरण रहेको छ ।
जसमा नेपालले समेत बाँकी खेलमा फराकिलो जित निकाल्नु जरुरी रहेको छ ।
त्यसैले बुधबार नेपालले आयोजकमाथि ठुलो रन रेट बनाउने लक्ष्य सहित खेल्नु पर्नेछ ।
नेपाल २ खेलमा २ हार व्यहोर्दा अंक जोड्न सकेको छैन । नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
थाइल्याण्ड समेत ३ खेलमा कुनै अंक जोड्न नसक्दा तालिकाको पुछारमा रहेको छ ।