काठमाडौं । टी-ट्वान्टी क्रिकेटको बादशाहको उपनामले परिचित क्रिस गेलले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्दै छन् ।
वेष्ट इण्डिजका गेलले पोखरा राइजोजबाट ईपीएल खेल्ने छन् । पोखराले सुरुवाती केहि खेलका लागि गेललाई अनुबन्ध गरेको थियो ।
ईपीएलको उद्घाटन खेलमा गेलले साविकको विजेता ललितपुर पेट्रियट्सविरुद्ध खेल्ने छन् ।
प्रतियोगिता सुरु हुन दुई हप्ता बाँकी रहदा गेलले नेपाली समर्थकलाई गेल धमाकाका लागि तयार रहन आग्रह गरेका छन् ।
सामाजिक संजाल ट्वीटरबाट गेलले आफ्नो धमाकाको साक्षी रहन आग्रह गरेका हुन् ।
'मार्च ४ देखि टिकट खुल्ला हुनेछ । त्यसैले गेल धमाकाको साक्षी बस्न तयार हुनुहोस्,' गेलले ट्वीटरमा लेखेका छन्, 'ईपीएलको लागि टिकट बुक गर्नुहोस नेपाल र गेल, द बोसको एक्सन हेर्न तयार हुनुहोस् ।'
यस्तै उनले नेपाल भ्रमण गर्न आतुर रहेको समेत बताएका छन् ।
'टिभिएस ईपीएलको लागि नेपाल आउन थप कुर्न सक्दिन र मेरो बयान गरिएका सामु खेल्न आतुर छु,' उनले लेखेका छन् ।
विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको रमणीय दृश्य हेर्न समेत आफु आतुर रहेको गेलले जनाएका छन् ।
ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । साविक विजेता ललितपुर पेट्रियट्ससंगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।