काठमाडौं । एसीसी इस्टर्न रिजन टी ट्वान्टी क्रिकेट प्रतियोगितामा सिंगापुरले लगातार दोस्रो जित निकालेको छ ।
मंगलबार भएको खेलमा मलेसियालाई १ सय २८ रनको फराकिलो अन्तरले पराजित गर्दै सिंगापुरले दोस्रो जित हात पारेको हो ।
बैंककमा सिंगापुरले दिएको २ सय ४० रनको फराकिलो लक्ष्य पछाएको मलेसिया १५ ओभर १ बलमा १ सय ११ रन बनाउँदा अल आउट भयो ।
उसका मोहमद नुरले सर्वाधिक २५ रनको इनिङ्स खेले । यस्तै शेद अजिज र अमिनुदीन राम्लीले समान २३/२३ रन बनाउँदा मोहमद आरिफले १५ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
मलेसियालाई सस्तैमा समेट्न सिंगापुरका अनाथा कृष्णले ४ विकेट लिए । यस्तै अमजद महबुबले २ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय ३९ रन बनायो । उसको ठुलो स्कोरमा टिम डेभिडले सर्वाधिक ९२ रनको अर्धशतकीय इनिङ्स खेले । मात्र ३२ बल खेलेका उनले ९ छुका र ७ छक्का प्रहार गरेका थिए ।
यस्तै सिदान्तले ७७ रनको अर्धशतकीय इनिङ्स खेल्दा सुरेन्द्रन चन्द्रमोहनले ४७ रनको योगदान गरे । मलेसियाका सज्रुल इद्रुस, खिजर दुरानी र मुहमद फित्रिले समान १/१ विकेट लिए ।
जितसँगै सिंगापुर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसको २ खेलमा २ जितका साथ ४ अंक रहेको छ ।
यस्तै ३ खेलमा २ जितका साथ ४ अंक रहेको मलेसिया तालिकाको दोस्रो स्थानमा छ ।
नेपाल भने २ खेलमा अंक विहीन रहदै पुछारबाट तालिकाको दोस्रो स्थानमा छ ।
नेपाललाई शीर्ष दुईमा स्थान बनाउन बाँकी दुई खेलमा फराकिलो जित निकाल्दै अन्य राष्ट्रको खेलमा भर पर्नु पर्ने छ । नेपालले आफ्नो तेस्रो खेल बुधबार थाइल्याण्डसँग खेल्दै छ ।