कहाँ होला एसिया कप क्रिकेट ?

एजेन्सी । एसीसी टी-ट्वान्टी एसिया कप क्रिकेट कुन देशमा आयोजना गर्ने भन्ने बारे अझै टुंगो लागेको छैन ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) ले पाकिस्तानमा एसिया कप गर्ने तयारी गरेपनि भारतले त्यसलाई अस्विकार गर्दै आएको छ ।
पाकिस्तानसँगको तिक्ततापूर्ण सम्बन्धका कारण भारतले एसीसीको प्रस्तावलाई अस्विकार गर्दै आएको छ ।
यसै विषयमा छलफल गर्न एसीसीले भारत र पाकिस्तानका क्रिकेट बोर्डका अध्यक्षलाई दुबईमा निमन्त्रणा गरेको थियो । तर भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का अध्यक्ष सौरभ गांगुलीले कोरोना भाइरसका त्रासका कारण दुबई गएका छैनन् । पाकिस्तान क्रिकेटका अध्यक्ष भने दुबई पुगिसकेका छन् ।
हाल विश्वभर संक्रमणको रुपमा रहेको कोरोना भाइरस दुबईका ७०० भन्दा बढी मानिसमा भेटिएको छ । गांगुलीले दुबई भ्रमण सारेपछि एसीसीको मिटिङ समेत पछि सरेको छ ।
'गांगुली आज बेलुका दुबई प्रस्थान गर्ने तयारी रहेको थियो,' बीसीसीआईका एक अधिकारिले भनेका छन्, 'युएईमा समेत भेटिएको कोरोना भाइरसको संक्रमणका कारण भ्रमण पछि सारेका छन् ।'
एसिया कप यसै वर्ष (सन् २०२०) मा आयोजना हुँदैछ । एसीसीले एसोसियट राष्ट्रको विकासको लागि हरेक दुई वर्षमा एसिया कप गराउदै आएको छ । एसिया कपमा एसियाका ५ टेष्ट राष्ट्र र एक एसोसियट राष्ट्रले सहभागिता जनाउने छन् ।
पाकिस्तानमा आयोजना भए भारतले प्रतियोगितामा सहभागिता नजनाउने भएपछि प्रतियोगिता युएईमा हुने सम्भावना रहेको छ ।













-1763904378702.png&w=3840&q=75)


