काठमाडौं । थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटमा लगातार दुई हार व्यहोरेपछि नेपालको एसिया कप छनोटमा पुग्ने सम्भावना निकै कमजोर बनेको छ ।
बैंककमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भयो । यस्तै दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएपछि एसिया कप छनोटमा पुग्ने नेपालको सम्भावना कमजोर बनेको हो ।
तर, अंक गणित हेर्ने हो भने नेपालको सम्भावना अझै बाँकी छ । पाँच राष्ट्र सहभागी इस्टर्न रिजनको फाइनल पुग्ने टिमले एसिया कप छनोटमा स्थान बनाउने छन् ।
त्यसैले अब नेपाललाई बाँकी रहेको २ खेलमा जित निकाल्नुको विकल्प छैन । नेपाललाई जित निकालेर मात्र पुग्दैन । जित समेत फराकिलो अन्तरको हुनु पर्नेछ ।
नेपालले बाँकी २ खेल जिते नेपालको ४ अंक हुनेछ । र, चार अंकले मात्र नेपाल फाइनल पुग्ने छैन । नेपाल फाइनल पुग्न अरु राष्ट्रको खेलमा समेत भर पर्नु पर्ने हुन्छ ।
हाल मलेसिया २ खेलमा २ जितका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । यस्तै हङकङ १ खेलमा १ जित हात पार्दा दोस्रो स्थानमा र सिंगापुर १ खेलमा १ जित निकाल्दै तालिकाको तेस्रो स्थानमा छ । नेपाल भने २ खेलमा विना कुनै अंक तालिकाको पुछारबाट दोस्रो स्थान रहेको छ ।
शीर्ष स्थानको मलेसियाले २ खेल खेल्न बाँकी रहेको छ । यस्तै हङकङ र सिंगापुरले समान ३/३ खेल खेल्न बाँकी रहेको छ ।
त्यसैले नेपाल अब फाइनल पुग्ने सम्भावना हेर्ने हो भने २ खेलमा जित निकाल्दै अन्य खेलको नतिजा कुर्नु पर्नेछ । जसमा मलेसियाले बाँकी सबै खेल जित्नु पर्नेछ । र, थाइल्याण्डले हङकङलाई फराकिलो अन्तरले पराजित गर्दै हङकङले सिंगापुरलाई पराजित गरे नेपाल फाइनल पुग्नेछ ।
अर्को गणितीय हिसाबमा मलेसियाले सिंगापुरलाई फराकिलो अन्तरमा पराजित गर्नु पर्नेछ र सिंगापुरले हङकङलाई हराउँदै थाइल्याण्डले पुन: हङकङलाई पराजित गर्नु पर्नेछ ।
यदि यसरी खेलले मोड लिए मलेसिया शीर्ष स्थान र नेपाल दोस्रो स्थानमा रहँदै एसिया कप छनोटमा पुग्नेछ ।
झट्ट हेर्दा फाइनल पुग्ने नेपालको गणितीय सम्भावना रहेपनि निकै कठिन रहेको छ ।