काठमाडौं । टेष्ट राष्ट्र न्युजिल्याण्डका क्रिकेटर कोरे एण्डरसनले काठमाडौं किङ्स इलाभेनबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
काठमाडौंले सोमबार प्रेस विज्ञप्ति निकाल्दै एण्डरसनले टिमबाट चौथो संस्करणको ईपीएल खेल्ने जनाएको छ ।
एण्डरसन एकदिवसीय क्रिकेटमा सर्वाधिक चाँडो शतक बनाउने कीर्तिमानी खेलाडी हुन् । उनले सन् २०१४ मा वेष्ट इण्डिजविरुद्ध ३६ बलमा ६ चौका र १४ छक्का प्रहार गरेका थिए ।
तर, उनको कीर्तिमान एबी डी भिलियर्सले सन् २०१५ मा ३१ बलमा शतक बनाएर कीर्तिमान तोडेका थिए ।
२९ वर्षे एण्डरसन काठमाडौंमा अनुबन्ध हुने दोस्रो विदेशी खेलाडी हुन् ।
काठमाडौंले यस अघि टेष्ट राष्ट्र आयरल्याण्डका क्रिकेटर केभिन ओ ब्रायनलाई अनुबन्ध गरिसकेको छ ।
ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । साविक विजेता ललितपुरसंगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।
उद्घाटन खेलमा साविक विजेता ललितपुर पेट्रियट्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।