एजेन्सी । आईसीसी टेष्ट च्याम्पियनसिप अन्तर्गत भारतविरुद्धको दुई खेलको टेष्ट सिरिजमा घरेलु टिम न्युजिल्याण्डले क्लिन स्विप गरेको छ ।
क्राइस्टचर्चमा सोमबार दोस्रो टेष्टमा भारतलाई ७ विकेटले पराजित गर्दै न्युजिल्याण्डले सिरिज २-० ले जितेको हो ।
यस अघि पहिलो टेष्टमा भारत न्युजिल्याण्डसँग १० विकेटले पराजित भएको थियो ।
भारतले दिएको १ सय ३२ रनको न्युजिल्याण्डले ३ विकेट गुमाएर पुरा गर्यो । न्युजिल्याण्डका टम ब्लुन्डेलले ५५ रन जोड्दा टम लाथमले ५२ रन बनाए । भारतका जस्प्रित बुम्राहले २ विकेट लिए ।
यस अघि भारतले दोस्रो इनिङ्समा १ सय २४ रन जोड्दा अलआउट भएपछि न्युजिल्याण्डले सामान्य लक्ष्य पाएको थियो ।
भारतका चेतेश्वर पुजाराले २४ रन जोड्दा रबिन्द्र जडेजाले १६ रन बनाए । विराट कोहली र पृथ्वी शले समान १४/१४ रन बनाए ।
न्युजिल्याण्डका ट्रेण्ड बोल्डले ४ विकेट लिँदा टिम साउथीले ३ विकेट लिए ।
भारत पहिलो इनिङ्समा २ सय ४२ रनमा अलआउट भएको थियो । भारतका लागि हनुमा बिहारीले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पृथ्वी श र चेतेश्वर पुजराले ५४/५४ रन बनाए ।
कप्तान विराट कोहली ३ रनमा आउट भए । न्युजिल्याण्डका केली जेमिसनले ५ विकेट लिए । यस्तै टिम साउथी र ट्रेण्ड बोल्टले २/२ विकेट लिए ।
भारतलाई पहिलो इनिङ्समा सस्तैमा समेटेको न्युजिल्याण्डले पनि पहिलो इनिङ्स उत्कृष्ट खेल्न सकेन । टम लाथमले ५२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि न्युजिल्याण्ड २ सय ३५ रनमा अलआउट भयो ।
यस्तै उसका केली जेमिसनले ४९ रन बनाए । टम ब्लुनडेल ३० रनमा आउट हुँदा कोलिन डी ग्राण्डहोमेले २६ रन बनाए ।
भारतका मोहमद शामीले ४ विकेट लिए । जस्प्रित बुम्राहले ३ तथा रबिन्द्र जडेजाले २ विकेट लिए ।