काठमाडौं । टेष्ट राष्ट्र श्रीलंकाका क्रिकेटर जीवन मेन्डिस र मिलिंडा श्रीवार्दानाले भैरहवा ग्लाडीयटर्सबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
भैरहवाले आइतबार पत्रकार सम्मेलन गर्दै मेन्डिस र श्रीवार्दानाले टिमबाट चौथो संस्करणको ईपीएल खेल्ने जनाएको छ ।
श्रीलंकन क्रिकेट टोलीका सदस्य ३७ वर्षे मेन्डिसले ५८ एकदिवसीय र २२ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलिसकेका छन् ।
यस्तै उनीसँग दिल्ली डेयर डेभिल्सबाट आईपीएल, सिड्नी सिक्सर्सबाट बिग बास लिग लगायत अन्य थुर्पै फ्रेन्चाइज क्रिकेट खेलेको अनुभव रहेको छ ।
उनले २०१२ र २०१५ को टी-ट्वान्टी विश्वकप खेलेका छन् ।
३४ वर्षीय श्रीवार्दानाले पनि श्रीलंकाबाट खेलिसकेका छन् । उनले श्रीलंकाबाट २७ एकदिवसीय र ५ टेष्ट खेलेका छन् । गत वर्ष भएको एकदिवसीय विश्वकपमा श्रीवार्दाना टिममा रहेका थिए ।
यस्तै भैरहवाले ओमानका बिलाल खानलाई पनि चौंथो संस्करणको ईपीएलको लागि अनुबन्ध गरेको जनाएको छ ।
ओमानी टिमका महत्वपूर्ण सदस्य बिलालले हालै नेपालमा भएको आईसीसी विश्व क्रिकेट लिग-२ मा नेपाल र अमेरिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए ।
भैरहवाले यसअघि वेष्ट इण्डिजका क्रिकेटर ड्वाने स्मिथलाई अनुबन्ध गरिसकेको छ ।
नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक रहेका पुबुदु दशानायाके मुख्य प्रशिक्षक रहेको भैरहवा शरद भेषवाकरको कप्तानीमा ईपीएल खेल्ने छन् ।
भैरहवाका मालिक आदित्य सांघाईले सन्तुलित टिम बनाउन राम्रा विदेशी खेलाडी अनुबन्ध गरेको बताए ।
'सन्तुलित टिम बनाएका छौँ । नया सिजन राम्राे गर्ने साेचेका छौँ,' पत्रकार सम्मेलनमा सांघाईले भने ।
यस्तै प्रशिक्षक दसानायके छोटो समयमा राम्रो टिम बनाएको बताए ।
'छाेटाे समयमा राम्राे टिम बनाएका छौँ । राष्ट्रिय टिमका राम्रा खेलाडी रहेकाले राम्राे नतिजा निकाल्ने छौँ,' उनले भने, 'खेलाडीहरू राम्रा छन् । टिमसँग खुसी छु । केही दिन अभ्यासमा रहनेछु । टिमलाई आकारमा ल्याउन केही हप्ता मेहनत गर्नेछाै ।'
उनले नेपाल फर्किएर आउँदा राम्रो अनुभव भएको समेत बताए ।
ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।