काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा टिम ईभेन्ट्समा स्वर्ण जित्ने खेलाडीले ६ लाख रुपैयाँ पाउने भएका छन् ।
मन्त्रीपरिषद्ले फागुन १२ गते पारित गरेको पुरस्कार राशी सम्बन्धि संशोधित कार्यविधिले टिम ईभेन्ट्समा स्वर्ण जित्ने खेलाडीलाई ६ लाखको व्यवस्था गरेको हो । यस्तै टिम ईभेन्ट्समा रजत जित्नेले ४ लाख र कास्य जित्ने खेलाडीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव गरेको पुरस्कार राशीलाई मन्त्रीपरिषद्ले स्विकृती प्रदान गरेको हो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले टिम ईभेन्ट्सका स्वर्णधारीले ५ लाख रुपैयाँ पाउने घोषणा गरेपनि अन्य पदकको बिषयमा निर्णय नगरेको बताएका थिए ।
मन्त्रीपरिषद्वारा संशोधित कार्यविधि पारित भएसंगै सागका सबै पदकधारी खेलाडीले प्राप्त गर्ने रकमको टुङ्गो लागेको हो ।
सरकारले यसअघिनै व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख र एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीले ११ लाखका दरले पुरस्कार पाउने बताएको थियो ।
यस्तै, ब्यक्तिगत स्पर्धामा रजत जित्नेले ६ लाख र कास्य जित्ने खेलाडीले ३ लाख रुपैयाँ पाउने घोषणा गरेको थियो ।
कार्यविधिले सागमा पदक जिताउने मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकको पुरस्कार रकमको समेत टुङ्गो लगाएको छ ।
स्वर्ण पदक जिताउने प्रशिक्षकले ५ लाख, रजतले ३ लाख र कास्य पदक जिताउने मुख्य प्रशिक्षकले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै, सहायक प्रशिक्षकतर्फ स्वर्ण जिताउनेले ३ लाख, रजत जिताउनेलाई २ लाख र कास्य पदक जिताउने प्रशिक्षकलाई १ लाख रुपैयाँ पुरस्कारको सुनिश्चितता कार्यविधिले गरेको छ ।
मन्त्रिपरिषद्द्वारा पारित कार्यविधि अनुसार स्वर्ण जित्ने खेल संघले ५ लाख रुपैयाँ, रजत जित्ने खेल संघले ३ लाख र कास्य जित्ने खेल संघले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
कार्यविधि अनुसार टिममा समावेश म्यानेजरले भने पुरस्कार रकम नपाउने भएका छन् । मन्त्रालयले गरेको सिफारिसलाई अर्थमन्त्रालयले दिन नसकिने भन्दै म्यानेजरको पुरस्कार रकमको शीर्षक काटेको मन्त्रालय स्राेतले खेलपाटीलाई बताएकाे छ ।