काठमाडौं । सिंगापुरले थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
बैंककमा भएको पहिलो खेलमा आयोजक थाइल्याण्डलाई ४३ रनले पराजित गर्दै सिंगापुरले सुखद सुरुवात गरेको हो ।
सिंगापुरले दिएको १ सय ४० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको थाइल्याण्ड १९ ओभरमा अलआउट हुँदै ९६ रनमा समेटियो ।
थाइल्याण्डका डानिल जाकोब्सले २८ रन जोडे । हेन्नो जोर्डनले १९ रन बनाउँदा जिउल होकीले १७ रन बनाए ।
सिंगापुरका सुब्रमनियनले ३ विकेट लिए । यस्तै जनक प्रकाश, भिनोथ बस्कारण र अनन्था कृष्णले २/२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो ।
सिंगापुरको जितमा सिधान्तले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै जनक प्रकाशले २० रन जोड्दा रोहण रंगराजनले १८ रन बनाए । मन्प्रित सिंहले १५ रन जोडे ।
थाइल्याण्डका मशिद फाहिम र निपहोन सेनामोंट्रीले २/२ विकेट लिए ।
प्रतियोगितामा नेपाल र मलेसियासहित थाइल्याण्ड, सिंगापुर र हङकङले प्रतिस्पर्धा गरिरहेका छन् । राउण्ड रोबिन आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।