काठमाडौं । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीका लागि घोषणा गरिएको पुरस्कार दिन बाटो खुलेको छ ।
सागका पदक विजेता खेलाडीलाई पुरस्कार दिन युवा तथा खेलकुद मन्त्रालयले गरेको खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि संशोधनको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति गरेसँगै तीन महिनापछि पुरस्कार दिन बाटो खुलेको हो ।
सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले बिहिबार पत्रकार सम्मेलनबाट खेलकुद पुरस्कार तथा सम्मान कार्यविधिको पहिलो संशोधनलाई मन्त्रिपरिषद्ले स्वीकृति गरेको बताउँदै सागका पदक विजेता खेलाडीलाई घोषित पुरस्कारको लागि बाटो खुलेको बताए ।
'युवा तथा खेलकुद सम्बन्धि एक प्रस्तावलाई स्वीकृति गरेको छ । त्यसमा खेलकुद पुरस्कार तथा सम्मान कार्यविधिको पहिलो संशोधन रहेको छ,' पत्रकार सम्मेलनमा खतिवडाले भने, 'यो भनेको १३ औं सागमा पदक जित्ने खेलाडीलाई सम्मान गर्नेसँग सम्बन्धित कार्यविधि रहेको छ ।'
गत मंसिर अन्तिम साता प्रधानमन्त्री केपी शर्मा ओलीले सागका पदकधारीलाई नगद पुरस्कारको सरप्राइज प्याकेज घोषणा गरेका थिए । तर, प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कार रकम कार्यविधि भन्दा बढी भएकाले संशोधनबिना पुरस्कार प्रदान गर्न सकिएको थिएन ।
प्रधानमन्त्रीले सागमा स्वर्ण विजेताका लागि ९ लाख, रजतलाई ६ लाख र कास्यलाई ३ लाख दिने घोषणा गरेका थिए ।
यस्तै टिम इभ्नेट्समा स्वर्ण जित्ने खेलाडीका लागि जनही ५ लाख, रजतलाई ३ लाख र कास्यका लागि २ लाख पुरस्कार दिने घोषणा गरेका थिए । त्यस्तै एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाख दिने घोषणा गरिएको थियो ।
कार्यविधि संशोधनसँगै खेलाडीको पुरस्कार रकममा कर समेत नकाटिने भएको छ ।
सागमा नेपालले ५१ स्वर्ण पदक जितेको थियो । त्यस्तै नेपालले ६० रजत र ९५ कास्यसहित कुल २ सय ६ पदक जितेको थियो ।