एजेन्सी । पाहुना टिम वेष्ट इण्डिजविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज श्रीलंकाले जितेको छ ।
बुधबार भएको दोस्रो खेलमा वेष्ट इण्डिजलाई १ सय ६१ रनले पराजित गर्दै श्रीलंकाले एक खेल अगाबै सिरिज २-० ले जितेको हो ।
श्रीलंकाले दिएको ३ सय ४६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेष्ट इण्डिज ३९ ओभर १ बलमा अलआउट हुँदै १ सय ८४ रनमा समेटियो ।
वेष्ट इण्डिजका शाइ होपले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । निकोलस पुरनले ३१ रन जोड्दा किमो पाउलले २१ रन बनाए ।
श्रीलंकाका हसरंगा डी सिल्भा र लाक्सन सान्दकानले समान ३/३ विकेट लिए । नुवान प्रदिपको नाममा २ विकेट रह्यो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ४५ रन जोडेको थियो । श्रीलंकाका लागि अभिस्का फर्नान्डोले १ सय २७ रनको शतकीय इनिङ्स खेले ।
कुशल मेन्डिसले पनि १ सय १९ रनको शतकीय इनिङ्स खेले । थिसरा परेराले ३६ रन बनाए । वेष्ट इण्डिजका शेल्ड्रोन कोट्रेलले ४ विकेट लिए । अल्जारी जोसेफले ३ विकेट लिए ।
यस अघि पहिलो खेलमा श्रीलंकाले वेष्ट इण्डिजलाई १ विकेटले हराएको थियो ।