काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी ईस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटमा सहभागिता जनाउने नेपाली राष्ट्रिय टिमका तीन खेलाडीलाई क्रिकेट खेल सामाग्री हस्तान्तरण गरेको छ ।
राष्ट्रिय टिममा पहिलो पटक परेका र पुनरागमन गरेका तीन खेलाडीलाई मंगलबार क्यानले क्रिकेट सामग्री उपलब्ध गराएको हो ।
क्यानले वितरण गरेको क्रिकेट सामाग्री पाउनेमा लामो समयपछि राष्ट्रिय टिममा पुनरागमन गरेका भुवन कार्की र पवन सर्राफ रहेका छन् । यस्तै राष्ट्रिय टिममा पहिलो पटक स्थान बनाउन सफल किशोर महतोले समेत क्रिकेट सामाग्री प्राप्त गरेका छन् ।
तीनै खेलाडीलाई क्यानका कोषाध्यक्ष रोशन सिंह र टिम व्यवस्थापक माधव कर्माचार्यले क्रिकेट सामाग्री हस्तान्तरण गरेका थिए ।
प्रतियोगिताको लागि थाइल्याण्ड जानुअघि क्यानले खेलाडीलाई खेल सामग्री उपलब्ध गराएको हो ।
प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको नेपाली टिम फागुन १५ गते बिहिबार थाइल्याण्ड प्रस्थान गर्ने छन् ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आयोजना गर्ने यस प्रतियोगिता एसिया कप छनोट पनि हो ।
प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।
प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले फेब्रुवरी २९ मा मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै मार्च १ मा हङकङसँग खेल्दा मार्च ४ मा थाइल्याण्डसँग खेल्नेछ । नेपालले अन्तिम खेलमा मार्च ६ मा सिंगापुरसँग खेल्नेछ ।