एजेन्सी । बंगबंधु शेख मुजिबउर रहमानको जन्म शताब्दीमा बंगलादेशमा आयोजना हुने टी-ट्वान्टी सिरिजका लागि एसिया-११ को टिम सार्वजनिक भएको छ ।
बंगलादेश क्रिकेट बोर्डले मंगलबार विश्व-११ विरुद्ध हुने खेलका लागि एसिया-११ ले १४ सदस्यीय टिमको घोषणा गरेको हो ।
बोर्डले सार्वजनिक गरेको नामावलीमा नेपालका सन्दीप लामिछाने समेत रहेका छन् । एसिया-११ को टिममा पर्ने सन्दीप नेपाल तथा एसोसियटको एकल खेलाडी हुन् ।
एसिया-११ को टिममा भारतीय खेलाडीको बाहुल्यता रहेको छ । टिममा भारतका ६ खेलाडी रहेका छन् ।
सन्दीपसंगै विराट कोहली, लोकेश राहुल, ऋषब पन्त, कुलदिप यादव, शिखर धवन, तामिम इकबाल, लिटोन दास, मुस्फिकर रहमान, थिसरा परेरा, राशिद खान, मुस्ताफिजुर रहमान, लासिथ मालिंगा, मोहमद शामी र मुजिब उर रहमान रहेका छन् ।
विराट र राहुलको भने निश्चित हुन् बाँकी रहेको छ । यद्दपी उनीहरु दुई मध्ये एकले खेल खेल्ने सम्भावना रहेको छ ।
यस्तै विश्व-११ को टिम समेत सार्वजनिक गरिएको छ । विश्व-११ को कप्तानी फाफ डु प्लेसिसले गर्ने छन् ।
विश्व-११ टिममा क्रिस गेल, एलेक्स हेल्स, निकोलस पुरन, रोस टेलर, जोन्नी बेयरस्टो, केइरन पोलार्ड, आदील राशिद, शेल्डन कट्रेल, लुंगी नेग्दी, एण्ड्रिउ टाइ र मिचेल मेक्लेनेघन रहेका छन् ।
खेल मार्च १८ र २१ मा ढाकामा हुनेछ ।
बंगलादेश क्रिकेट बोर्डले बंगबंधु शेख मुजिबउर रहमानको जन्म शताब्दीमा विश्व-११ र एसिया-११ बीच दुई टी-ट्वान्टी खेलको आयोजना गर्न लागेको हो ।
उक्त खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले समेत मान्यता दिएको छ ।