काठमाडौं । टेष्ट राष्ट्र आयरल्याण्डका क्रिकेटर केभिन ओ ब्रायनले पुन: काठमाण्डौं किंग्स इलाभेनबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
काठमाण्डौंले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै केभिनले क्लबबाट चौथो संस्करणको ईपीएल खेल्ने जनाएको छ । काठमाण्डौंले पहिलो विदेशी खेलाडीको रुपमा केभिनलाई अनुबन्ध गरेको हो ।
गत सिजन पनि केभिनले काठमाण्डौंबाटै खेलेका थिए । अलराउन्डर केभिनले गत सिजना उत्कृष्ट प्रदर्शन गरेका थिए ।
केभिनले गत संस्करणको ईपीएलमा ७ खेल खेल्दै ९ विकेट हात पार्दा सर्वाधिक विकेट लिने खेलाडीको छैठौं स्थानमा रहेका थिए ।
यस्तै ब्याटिङतर्फ प्रतियोगिता भर १ सय ८४ रन बनाउँदा काठमाण्डौंको लागि सर्वाधिक रन बनाउने खेलाडी रहेका थिए ।
केभिनले आयरल्याण्डबाट ३ पटक एकदिवसीय र ५ पटक टी-ट्वान्टी विश्वकप खेलेका छन् ।
यस्तै केभिन आयरल्याण्डको लागि टेष्ट क्रिकेटमा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् ।
उनी एकदिवसीय अन्तराष्ट्रियमा समेत सय विकेट लिने आयरल्याण्डका पहिलो खेलाडी हुन् ।
ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।
विश्वले सम्झने केभिनको त्यो पारी
टेष्ट राष्ट्रको मान्यता पाउनु अघि, सन् २०११ को विश्वकपमा आयरल्याण्डका केभिन ओब्राइनले सबैको मन जितेका थिए ।
भारतमा भएको सो विश्वकपमा आयरल्याण्डले इंग्ल्याण्डविरुद्ध रोमाञ्चक जित निकाल्दा विश्व चकित बनेको थियो । एम चिन्नास्वामी स्टेडियममा, केभिनको एकल प्रयासले आयरल्याण्ड विश्वकपको क्वाटरफाइनल पुगेको थियो ।
कसैले नसोचेको नतिजा निकाल्ने क्रममा केभिनले विश्वकप इतिहासकै छिटो शतक प्रहार गरेका थिए । केभिनले मात्र ६३ बलमा १ सय १३ रन बनाउँदै इंग्ल्याण्डविरुद्ध रोमाञ्चक जित दिलाएका थिए ।
आयरल्याण्ड क्रिकेटलाई अहिलेको स्थान (टेष्ट मान्यता राष्ट्र) सम्म पुर्याउनुमा उनको समेत ठुलो भूमिका रहेको छ ।