काठमाडौं । साविक विजेता ललितपुर पेट्रियट्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटका लागि तीन पाकिस्तानी खेलाडी अनुबन्ध गरेको छ ।
ललितपुरले सोमबार प्रेस विज्ञप्ति निकाल्दै ईपीएलका लागि तीन पाकिस्तानी खेलाडी अनुबन्ध गरेको जनाएको छ ।
ललितपुरले अलराउन्डर हसन खान, हमाद आजम र बलर मिर हाम्जालाई अनुबन्ध गरेको हो ।
हसन पाकिस्तानको यू-१९ टोलीका पूर्व कप्तान हुन् । उनी २०१८ को यू-१९ विश्वकपमा कप्तान रहेका थिए ।
यस्तै पाकिस्तान प्रिमियर लिग खेल्दै आएका हसनले क्यानाडाको ग्लोबल टी-ट्वान्टी खेलिसकेका छन् ।
मिरसँग इंग्ल्यान्डमा काउन्टी क्रिकेट खेलेको अनुभव रहेको छ । उनले गत सिजन ससेक्सबाट काउन्टी खेलेका थिए । हमादले भने घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् ।
यसअघि ललितपुरले श्रीलंकाका उपुल थरंगालाई अनुबन्ध गरिसकेको छ।
ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।
ललितपुर राष्ट्रिय टिमका कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने छ । टिमको मुख्य प्रशिक्षकमा राजु बस्न्यात रहेका छन् ।
गत सिजन ललितपुरले फाइनलमा भैरहवा ग्ल्याडीयटर्सलाई हराएर उपाधि जितेको थियो ।