काठमाडौं । काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटिसी) दोस्रो संस्करणको हिमालय क्रिकेट लिग ( एचसिएल ) दुईदिवसीय क्रिकेट प्रतियोगितामा एकै इनिङ्समा विजयी भएको छ ।
मुलपानी क्रिकेट मैदानमा सोमबार केसीटिसीले बालुवाटार क्रिकेट क्लबमाथि एक इनिङ्स ९७ रनको जित निकालेको हो ।
केसीटिसीले ९ विकेटको क्षतिमा २ सय १ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेपछि दोस्रो इनिङ्स थालेको बालुवाटार ५१ रन जोड्दा अलआउट भयो । दोस्रो इनिङ्समा बालुवाटारका प्रसान्त पण्डितले १२ रन जोड्दा नबिन तामाङले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
केसीटिसीका सुर्य तामाङले ४ विकेट लिए । सुरज तामाङले ३ तथा तिलक भण्डारीले २ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बालुवाटारले पहिलो इनिङ्समा अलआउट हुँदै ५३ रन बनाएको थियो । बालुवाटारका सागर थापाले ११ रन बनाउँनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
बालुवाटारलाई सस्तैमा समेट्न केसीटिसीका तिलक भण्डारीले ५ विकेट लिएका थिए । यस्तै सुर्य तामाङले ३ विकेट लिएका थिए ।
पहिलो इनिङ्समा केसीटिसीले ९ विकेटको क्षतिमा २ सय १ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।
केसीटिसीका लागि विपिन आचार्यले ७२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सचिन लाखहले ३६ तथा सुर्य तामाङ २६ रनमा अविजित रहे ।
बालुवाटारका राजन जिसी र दिनेश जंग बुढा मगरले समान ३/३ विकेट लिएका थिए ।