काठमाडौं । इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत पुरुष फुटबलको दोस्रो खेलमा नेपालले आज (बिहिबार) भियतनामसंग प्रतिस्पर्धा गर्दैछ ।
पहिलो खेलमा एसियाली पावर हाउस जापानसंग झिनो अन्तरले पराजित नेपालले दोस्रो खेलमा भियतनामको सामना गर्न लागेको हो । नेपाल र भियतनामबीचको खेल नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ ।
पहिलो खेलमा पराजय बेहोरेको नेपाल आज भियतनामविरुद्ध जित वा बराबरी खेल्दै अघिल्लो चरणको सम्भावना कायम राख्न चाहन्छ । भियतनामविरुद्ध नेपाललाई सहज भने छैन । तर, जापानसंग १ – ० को झिनो हारले हौसियो नेपालले भियतनामविरुद्ध आश्चर्यजनक नतिजा निकाल्न सक्नेछ ।
यता, भियतनामले पहिलो खेलमा पाकिस्तानलाई ३ – ० ले हराएर दोस्रो चरण पुग्ने सम्भावना बलियो बनाईसकेको छ । त्यसैले नेपाललाई हराएर भियतनाम दोस्रो चरणको यात्रा गर्न चाहन्छ ।
आज नेपालले भियतनामलाई पराजित गरे नेपालको अघिल्लो चरण पुग्ने सम्भावना कायम रहन्छ । तर, भियतनामसंग पराजित भएमा वा पाकिस्तानविरुद्ध जापानले जित निकालेमा नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिने छ ।
एसियन गेम्समा नेपाल र भियतनाम नौलो प्रतिद्वन्द्वी हो । ओलम्पिक टोलीको खेलमा नेपालले अहिलेसम्म भियतनामविरुद्ध खेलेको छैन । तर, सिनियर टोलीमा भने नेपालले भियतनामविरुद्ध खेल खेलिसकेको छ ।
नेपालले सन् २००३ मा एएफसी एसिया कप अन्तर्गत भियतनामसंग दुई खेल खेलेको थियो । जसमा नेपालले दुवै खेल गुमाएको थियो । सेप्टेम्बरमा भएको पहिलो खेलमा नेपाल ५ – ० ले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल २ – ० ले हारेको थियो ।