नेपालगञ्ज । अखिल नेपाल फुटबल संघ एन्फाले पश्चिम नेपालको शहर कोहलपुरमा फुटबल प्रशिक्षण केन्द्र बनाउने भएको छ । कोहलपुर नगरपालिकासंग सहकार्य गर्दै एन्फाले कोहलपुर वडा नम्बर २ मा फुटबल प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको हो ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र नगरपालिकाका मेयर लुटबहादुर राउतबीच बुधबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रशिक्षण केन्द्र स्थापनाका लागि कोहलपुर नगरपालिकाले एन्फालाई २५ बर्षसम्म लागि लिजमा जग्गा उपलब्ध गराउन तयार भएको छ ।
कोहलपुर वडा नम्बर २ अन्तर्गत १३ बिगाहामा प्रशिक्षण केन्द्र स्थापना हुनेछ । तत्काल नगरपालिकाले प्रशिक्षणका लागि आवश्यक पर्ने करिब १० कठ्ठा जग्गा एन्फालाई उपलब्ध गराउनेछ ।
आवश्यकताका आधारमा थप जग्गा उपलब्ध गराउने नगरपालिकाका मेयर राउतले बताए । त्यसअघि सो जग्गा नेपालगञ्ज मेडिकल कलेजले लिजमा लिएको थियो ।
सहमती अनुसार दुई बर्षभित्र एन्फाले प्रशिक्षण केन्द्र बनाउने कामको सुरुवात गर्नेछ । प्रशिक्षण केन्द्रलाई आवश्यक पर्ने पुर्वाधार निर्माणमा एन्फाले लगानी गर्नेछ ।
एन्फा अध्यक्ष शेर्पाले पहाड र विभिन्न जिल्लाबाट बसाई सरेर आउने स्थानमा फुटबलको विकास उल्लेख्य हुने गरेको उदाहरण दिदै सोही कारण कोहलपुर एन्फाको रोजाईमा परेको बताए ।
'बसाई सरेर आएका मानिस भएको ठाउँमा फुटबलको विकास भएको देखेको छु । सोही कारण कोहलपुर रोजाईमा परेको हो ।' उनले भने ।
शेर्पाले फुटबल पुर्वाधार निर्माणमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले उपलब्ध गराउने रकम आगामी दिनमा कोहलपुर लगायतका क्षेत्रमा खर्च गर्न सकिने उल्लेख गरे ।
देशैभरी फुटबल प्रशिक्षण केन्द्र स्थापना गर्ने एन्फाको लक्ष्य अनुसार कोहलपुरमा समेत फुटबल प्रशिक्षण केन्द्र स्थापना हुन लागेको हो । प्रशिक्षण केन्द्र स्थापनासंगै यस क्षेत्रको फुटबल विकासमा उल्लेख्य टेवा पुग्ने स्थानीय फुटबल सम्बद्ध अधिकारीहरु बताउँछन् ।
प्रदेश ५ का महिला फुटबलको मुख्य प्रशिक्षक युवराज शाहीले कोहलपुरमा फुटबल प्रशिक्षण स्थापना हुनु पश्चिम क्षेत्रका लागि ठुलो कुरा रहेको बताए ।
'प्रशिक्षण केन्द्र बनेसंगै फुटबल विकासमा ठुलो मदत गर्छ । उल्लेख्य ठुलो भूमिका खेल्छ ।' उनले भने, 'अब युवालाई फुटबल कार्यमा लाग्न अवसर प्रदान गर्ने अपेक्षा गरेका छौ ।'