काठमाडौं । सशस्त्र प्रहरी बल एपीएफले १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पदक प्राप्त गर्न सफल आफ्ना खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।
एपीएफले आइतबार प्रधान कार्यालय हल्चोकमा पदक विजेता आफ्ना खेलाडीलाई सम्मान गरेको हो ।
गत मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना भएको १३ औं सागमा एपीएफमा आबद्द खेलाडीले ८ स्वर्ण, १५ रजत र २२ कास्यगरी कुल ४५ पदक जितेका थिए ।
एपीएफले एकलतर्फ स्वर्ण पदक जित्नेलाई १ लाख, रजत पदक विजेतालाई ५० हजार रुपैयाँ र कास्य पदक विजेतालाई २५ हजार रुपैयाँले सम्मान गरेको हो । यस्तै सामूहिक खेलतर्फ स्वर्ण पदक विजेतालाई ५० हजार रुपैयाँ, रजत पदक विजेतालाई २५ हजार रुपैयाँ र कास्य पदक विजेतालाई १५ हजार रुपैयाँ प्रदान गरेको हो ।
यस्तै कार्यक्रममा एथ्लेटिक्सतर्फ अन्तर्राष्ट्रिय खेलमा स्वर्ण पदक विजेता अजितकुमार यादव लगायत उत्कृष्ट चार जना प्रशिक्षकहरुलाई समेत नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
खेलाडीलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायतले पुरस्कृत गरेका थिए ।
यस्तै नेपाल ओलम्पीक कमिटिका महासचिव तथा नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्राचार्य, एनआईसी एसीया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र अग्नी ईनकर्पोरेट प्रालि (महिन्द्रा) का प्रमुख कार्यकारी अधिकृत अर्जुनप्रसाद शर्मा पौडेल लगायतले खेलाडीहरुलाई पनि खादा ओढाई सम्मान गरिएको थियो ।
तस्बिर - एपीएफ