काठमाडौं । एसियन गेम्स फुटबलमा नेपाल एसियाली पावर हाउस जापानसंग १-० ले पराजित भएको छ ।
समुह चरणको पहिलो नेपाल जापानसंग पराजित भएको हो । यसअघि ठुलो अन्तरको हार व्यहोर्दै आएको नेपालले यस पटक सानो गोल अन्तरमा पराजित हुन पुग्यो ।
खेलको सातौ मिनेटमा जापानका मितोमा कावरुले गरेको गोल खेलमा निर्णायक बन्यो । नेपालका गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्दै नेपाललाई फराकिलो अन्तरबाट पराजित हुनबाट बचाए ।
खेल अवधिभर नेपाललाई दबाबमा राखेको जापानको फरवार्ड लाईनलाई नेपालका डिफेन्डरले निराश बनाए । पहिलो हाफमा एक गोल ब्यहोरेपनि नेपालले दोस्रो हाफमा जापानलाई रोक्न सफल भएको थियो ।
योसंगै नेपाल एसियन गेम्समा जापानसंग चौथो पटक पराजित भएको छ । यसअघि सन् १९८६ मा दक्षिण कोरियामा भएको एसियन गेम्समा नेपाल जापानसंग ५–० ले पराजित भएको थियो ।
सन् १९९२ मा थाइल्याण्डमा भएको एसियन गेम्समा नेपाल जापानसँग ५ -० ले नै पराजित भएको थियो ।यस्तै पछिल्लो पटक सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियन गेम्समा नेपाललाई जापानले ४–० गोल अन्तरले हराएको थियो ।
समूह बी को नेपालले अब समूह चरणमा भियतनाम र पाकिस्तानसंग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा नेपालले भियतनामसंग अगष्ट १६ मा खेल्ने छन् । नेपालले समूह चरणको अन्तिम खेलमा पाकिस्तानसंग अगष्ट १९ मा खेल्नेछ ।
यहिँ समूहमा आज भियतनामले पाकिस्तानलाई पराजित गरेको छ ।