काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा हुने 'एनएनआईपीए स्पोर्ट्स अवार्ड' सँग अमेरिकाको एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो जोडिएको छ ।
बसन्त डबलीमा फागुन ६ गते आयोजना हुने अवार्डका लागि प्रायोजकको रुपमा एभरेष्ट तेक्वान्दो जोडिएको हो । एनएनआईपीएले शुक्रबार एभरेष्ट तेक्वान्दोसँग पाँच वर्षे प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।
एनएनआईपीएका अध्यक्ष दिपक श्रेष्ठ र एभरेष्ट तेक्वान्दोका बलराम कार्कीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
एभरेष्ट तेक्वान्दोले थप गरिएको प्रतिभावान खेलाडी अवार्डका लागि प्रायोजन गरेको हो ।
यस संस्करणमा एक पुरुष र एक महिला खेलाडीलाई प्रतिभावान खेलाडीको अवार्ड समेत दिईने छ । यस पुरस्कारको राशी ५० हजार रहेको छ ।
यस बाहेक अवार्ड कार्यक्रममा २८ खेलका उत्कृष्ट खेलाडी 'एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी' बाट सम्मानित हुने छन् ।
एनएनआईपीएले गत वर्ष इन्डोनेसियामा आयोजना भएको १८ औं एसियन गेम्समा सहभागिता जनाएको खेल र प्रदर्शनको आधारमा २८ खेलका एक एक उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने जनाएको छ ।
यस पटक फुटबल, पौडी, भलिबल, टेबल टेनिस, सुटिङ, बक्सिङ, प्याराग्लाइडिङ, भारोत्तोलन, लन टेनिस,कबड्डी, फेन्सिङ,स्क्वास,सेपाताक्रो र साइक्लिङ रहेका छन् । यस्तै स्पोर्ट्स क्लाईम्बिङ, पेन्कक सिलात, कुराश, रोलर स्पोर्ट्स, बास्केटबल,तेक्वान्दो, ब्याडमिन्टन, ट्रायथलन,कराते,जुडो,उसु,आर्चरी, एथलेटिक्स, गल्फ र कुस्ती समावेश छन् ।
सम्मानित हुने २८ खेलका प्रत्येक खेलाडीले १० हजार नगद पाउने छन् । यस्तै विजेता खेलाडीको फोटोसहितको क्यालेन्डर प्रकाशन हुनेछ ।
यस वर्षबाट दुई खेलाडीलाई सर्वोकृष्ट वर्ष खेलाडीले सम्मान गरिने आयोजकले जनाएको छ । संघले २९ खेलका उत्कृष्ट खेलाडीमध्ये एक महिला र एक पुरुषलाई जनही १/१ लाखले सम्मान गर्ने जनाएको हो ।
त्यस्तै, अवार्ड कार्यक्रममा पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको ‘गजराज आदर्श खेलाडी’ बाट एक जनालाई सम्मान गरिनेछ । गजराज आदर्श खेलाडीको विजेताले ३५ हजार नगद प्राप्त गर्नेछन् ।
यस वर्षपनि एक जना खेल पत्रकारलाई एनएनआईपिए पत्रकारिता पुरस्कारबाट सम्मानित गर्ने जनाएको छ । जसको पुरस्कार राशी नगद २५ हजार रहेको छ ।
यस पटक पारा खेलकुदका एक उत्कृष्ट खेलाडीलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ ।