काठमाडौं । इन्डोनेसियामा हुने १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले आज एसियाली पावर हाउस जापानसंग प्रतिस्पर्धा गर्दैछ ।
थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण सकेर इन्डोनेसिया पुगेको नेपाली टोलीले जापानसंग खेल्दै एसियन गेम्सको सुरुवात गर्न लागेको हो । इन्डोनेसिया जानुअघि नेपाली टोली थाइल्याण्डमा दुई अभ्यास खेल खेलेको थियो । दुवै खेलमा नेपाल पराजित भएको थियो ।
नेपाल र जापानबीचको खेल सिकाराङस्थित विबावा मुक्ति रंगशालामा नेपाली समयअनुसार साँझ ६:३० बजे सुरु हुनेछ । एसियन गेम्सको औपचारिक उद्घाटन शनिबारबाट हुने भएपनि फुटबल लगायतका खेलहरु अगाडीबाटै सुरु भएको हो ।
ओलम्पिक टोलीले खेल्न पाउने एसियन गेम्समा नेपालबाट सिनियर टोलीका तीन खेलाडी मैदान उत्रने छन् । जसमा गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डरहरु रोहित चन्द र बिशाल राईले टिममा रहेका छन् । नेपाली टोलीको कप्तानी किरणले गर्ने बताईएको छ ।
नेपाल आज जापानसंग कम्तिमा एक अंक खोस्ने लक्ष्यसहित मैदान उत्रने छ । तर, विगत हेर्ने हो भने जापानसंगको नेपालको नतिजा राम्रो छैन ।
नेपालले एसियन गेममा जापानसंग तीन पटक भिडेको छ । तीनै पटक पराजय बेहोरेको नेपालले १४ गोल बेहोेरेको छ ।
सन् १९८६ मा दक्षिण कोरियामा भएको एसियन गेम्समा नेपाल जापानसंग ५–० ले पराजित भएको थियो । सन् १९९२ मा थाइल्याण्डमा भएको एसियन गेम्समा नेपाल जापानसँग ५ -० ले नै पराजित भएको थियो ।
पछिल्लो पटक सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियन गेम्समा नेपाललाई जापानले ४–० गोल अन्तरले हराएको थियो ।
एसियन गेम्सको समूह डीमा रहेको नेपालले जापानपछि भियतनाम र पाकिस्तानसंग खेल्ने छ ।
दोस्रो खेलमा नेपालले भियतनामसंग अगष्ट १६ मा खेल्ने छन् । नेपालले समूह चरणको अन्तिम खेलमा पाकिस्तानसंग अगष्ट १९ मा खेल्नेछ ।