विराटनगर । दोस्रो संस्करणको गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताको उपाधिका लागि प्रदेश-५ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ ।
विराटनगरस्थित सहिद रंगशालामा बिहिबार भएको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै प्रदेश-५ उपाधि नजिक पुगेको हो ।
खेलको निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । टाइब्रेरमा प्रदेश ५ का सानु लामा, मनिष गुरुङ, रोहित लामा र शशी डरलामीले गोल गरेका थिए । मो.सिद्धिकको बललाई
आर्मीका गोलरक्षकले बचाउ गरे । त्यस्तै आर्मीका प्रदीप राजवंशी, देवसिंह धामी र रोशन चौधरी मात्रै गोल गर्न सफल भए भने रोमन राना र दीपेन्द्र ऐरको बल गोलरक्षकले उत्कृष्ट बचाउ गरे ।
त्यसैगरी दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ५–० को फराकिलो गोल अन्तरमा पराजित गर्दै फाइनलमा प्रदेश-५ सँगको भेट पक्का गर्यो ।
गण्डकीका लागि सुमितकुमार कामीले ३ गोल गरे । यस्तै पिताम्बर थापा र राजन नेपालीले एक एक गोल गरे ।
अब आर्मी र सुदूरपश्चिम प्रदेशबीच तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।
नेपाल हक्की संघले प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, उपविजेताले नगद २५ हजार रुपैयाँ र तेस्रोले नगद १५ हजार रुपैयाँ पाउने छन् । त्यस्तै व्यक्तिगत पुरस्कारतर्फ उदयीमान खेलाडी, सर्वाधिकगोलकर्ता, उत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट खेलाडीले जनही नगद ५ हजार पाउने छन् ।