विराटनगर । विभागीय टिम त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश दोस्रो संस्करणको गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
विराटनगरस्थित सहिद रंगशालामा बुधबार बाग्मती प्रदेशलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा पुगेको हो । आर्मीको जितमा रोमन रानाले ह्याट्रिक गरे ।
गण्डकी प्रदेशले प्रदेश २ लाई ६–० को फराकिलो गोल अन्तरमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो । गण्डकीको जितमा सुमितकुमार कामीको चार गोल गरे । सागर आचार्यले एक गोल गरे ।
त्यस्तै सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई ५–१ गोल अन्तरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । सुदूरपश्चिमका अमित ओझाले दुई गोल गर्दा कान्तुराम पनेरु, दीपकराज जोशी र केशवराज जोशीले एक एक गोल गरे । प्रदेश १ का अनिष मगरले गोल गरे ।
यस्तै प्रदेश ५ पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।
अब पहिलो सेमिफाइनलमा आर्मी र प्रदेश ५ तथा दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, उपविजेताले नगद २५ हजार रुपैयाँ र तेस्रोले नगद १५ हजार रुपैयाँका साथै ट्रफी जित्ने छन् । त्यस्तै व्यक्तिगत पुरस्कारतर्फ उदयीमान खेलाडी, सर्वाधिकगोलकर्ता, उत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट खेलाडीले जनही नगद ५ हजार पाउने छन् ।