विराटनगर । विभागीय टिम त्रिभुवन आर्मी क्लबले दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
विराटनगरस्थित सहिद रंगशालामा मंगलबार सुदूरपश्चिमलाई ४–० गोलले पराजित गर्दै आर्मीले दोस्रो जित निकालको हो । आर्मीका रोमन रानाले दुई गोल गरे । यस्तै दीपेन्द्र ऐर र नरेन्द्र कार्कीले एक एक गोल गरे ।
नेपाल हक्की संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको अर्को खेलमा प्रदेश-५ ले प्रदेश-२ लाई ६–० को फराकिलो गोल अन्तरमा पराजित गर्यो । प्रदेश ५ का लागि अमन कुमार, राजन कुमार र मनिष गुरुङले दुई दुई गोल गरे ।
त्यस्तै बागमती प्रदेशले प्रदेश १ लाई २–० गोल अन्तरमा पराजित गरेको छ । बागमतीका समिर घिमिरे र सुरज घर्ती मगरले एक एक गोल गरे ।
प्रतियोगितामा एक विभागीयसहित ६ प्रदेशको सहभागिता रहेको छ । विभागीय टोली नेपाल आर्मी, सुदूरपश्चिम प्रदेश, बाग्मती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र प्रदेश २ ले प्रतियोगितामा भाग लिएका छन् ।
प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, उपविजेताले नगद २५ हजार रुपैयाँ र तेस्रोले नगद १५ हजार रुपैयाँका साथै ट्रफी जित्ने छन् । त्यस्तै व्यक्तिगत पुरस्कारतर्फ उदयीमान खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट खेलाडीले जनही नगद ५ हजार पाउने छन् ।