विराटनगर । त्रिभुवन आर्मी र गण्डकी प्रदेशले दास्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगितामा विजयी सुरुआत गरेका छन् ।
नेपाल हक्की संघले विराटनगरस्थित सहिद रंगशालामा आयोजना गरेको प्रतियोगिताको पहिलो दिन सोमबार आर्मीले प्रदेश १ लाई ८–० गोलअन्तरमा पराजित गरेको हो ।
आर्मीका दीपेन्द्र ऐरले ३ र ४२ औं मिनेटमा गोल गरेभने २० औं मिनेटमा शेरबहादुर रोकायाले गोल थपे । २७ औं मिनेटमा प्रदीप राजवंशीले गोल गरे । ३६ र ३७ औं मिनेटमा रोमन राणाले गोल गरेभने ५७ र ५९ औं मिनेटमा प्रदीप राजवंशी गोल गरेका थिए । खेलको म्यान अफ द म्याच आर्मीका प्रदीप राजवंशी भए ।
त्यस्तै दोस्रो खेलमा गण्डकी प्रदेशले प्रदेश ५ लाई १–० गोलले पराजित गरेको छ । खेलको ३९ औं मिनेटमा गण्डकीका पिताम्बर थापाले निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच गण्डकीका किशनबहादुर मगर भए ।
त्यसैगरी, तेस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बाग्मती प्रदेशले बराबरी १–१ गोल गर्दै अंक बाँडेका छन् । ४९ औं मिनेटमा बाग्मतीका विनजन घिमिरे र ५९ औं मिनेटमा सुदूरपश्चिमका अंकित महरले गोल गर्दै खेललाई बराबरी पारेका थिए । खेलको म्यान अफ द सुदूरपश्चिमका केशवराज जोशी भए ।
प्रतियोगिताको उद्घाटन नेपाल हक्की संघका केन्द्रीय अध्यक्ष उमेशलाल श्रेष्ठले गरेका थिए । प्रतियोगितामा एक विभागीयसहित ६ प्रदेशको सहभागिता रहेको छ ।
आर्मी, सुदूरपश्चिम प्रदेश, बाग्मती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र प्रदेश २ ले प्रतियोगितामा भाग लिएका छन् ।