काठमाडौं । नेपाल पुलिस क्लबले १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पदक प्राप्त गर्न सफल आफ्ना खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आइतबार पुलिस क्लबले पदक विजेता आफ्ना खेलाडीलाई सम्मान गरेको हो ।
गत मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना भएको १३ औं सागमा पुलिसमा आबद्द खेलाडीले १६ स्वर्ण, १४ रजत र २६ कास्य गरी जम्मा ५६ पदक जितेका थिए ।
पुलिसले एकलतर्फ स्वर्ण पदक जित्नेलाई १ लाख २५ हजार, रजत पदक विजेतालाई ६० हजार रुपैयाँ र कास्य पदक विजेतालाई ३० हजार रुपैयाँ तथा सामूहिक खेलतर्फ स्वर्ण पदक विजेतालाई ७५ हजार रुपैयाँ, रजत पदक विजेतालाई ४० हजार रुपैयाँ र कास्य पदक विजेतालाई २५ हजार रुपैयाँ प्रदान गरेको हो ।
सागमा पुलिसका ९२ जना खेलाडीले नेपालको प्रतिनिधि गरेका थिए ।
नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विजेता खेलाडीलाई सम्मान गरेका थिए ।
यस्तै कोरियन तेक्वान्दो प्रशिक्षक ग्रान्ड मास्टर क्वान योङ दाल, कराते प्रशिक्षक राजेश श्रेष्ठ र जुडो प्रशिक्षक प्रहरी नायव निरीक्षक देवु थापालाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
तस्बिर - नेपाल प्रहरी