बाँके । वडा नम्बर ८ र वडा नम्बर १ ले नेपालगन्जमा भैरहेको युनाइटेड ग्रुप दोस्रो अन्तर वडास्तरीय क्रिकेट प्रतियोगितामा जित हासिल गरेका छन् ।
मंगरप्रसाद उच्च माविको खेल मैदानमा बुधबार वडा नम्बर ८ ले वडा नम्बर १६ लाई ७१ रनले हरायो । टस हारेर व्याटिङ गरेको वडा नम्बर ८ ले २० ओभरमा ४ विकेट गमाउँदै १ सय ४३ रन बनायो । जवाफी व्याटिङमा वडा नम्बर १६ ले १९.१ ओभरमा सबै विकेट गुमाएर ७२ रनमात्र बनाउन सक्यो ।
वडा नम्बर ८ का लागि अफाक शेखले ४२ बलमा १ छक्क र ६ चौकाको मद्दतले ४२ रन बनाए । शमसुद्धिन अन्सारीले २२ बलमा २ छक्का र ३ चौकासहित २९ रनको योगदान दिए । त्यसैगरी कैफ खानले ३२ बलमा १ छक्का र १ चौकाको मद्दतले २७ रनको योगदान दिए ।
वडा नम्बर १६ का गुलाम फारिदले ४ओभरमा ३० रन दिँदै २ विकेट लिए । आदिल अन्सारीले ४ ओभरमा २१ रन दिएर १ विकेट लिएका थिए ।
प्रतियोगितामा वठा नम्बर १६ का रिजवान अन्सारीले ३२ बलमा एक चौकाको मद्दतले ११ रनमात्र बनाउन सफल भए ।
वडा नम्बर १६ विरुद्ध वडा नम्बर ८ का दिनेश केवटले ३ विकेट लिन सफल भए । त्यसैगरी अफाक शेख, नासिर अन्सारी र जानु कासगरले समान २–२ विकेट लिएका थिए ।
अर्को खेलमा १ नम्बर वडाले १४ नम्बरलाई ६५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको १ नम्बरले २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ८० रनको योगफल तयार पारेको थियो । टोलीका लागि सिद्धान्त राज शाहीले ९१ रन बनाए ।
सिद्धान्तले बुधबार बनाएको रन जारी प्रतियोगिताकै एउटा खेलाडीले बनाएको सर्वाधिक ब्यक्तिगत रन हो । सिद्धान्तले ५४ बलमा ११ चौका र २ छक्का प्रहार गरेका थिए । यसैगरी रोशन केसीले ३५ रन अमित पौडेलले १६ रन बनाए । १४ नम्बरका वलर अरुण श्रेष्ठले ३ विकेट लिए ।
जवाफमा १४ नम्बर वडाले २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय १६ रनमात्र बनाउन सक्यो । टोलीका इमरान आलमले ३७ रन, युवराज शर्माले २८ र नरेश शर्मा तिवारीले २३ रन जोडे । १ नम्बरका हिमान्सु राणाले ३ विकेट र सिद्धान्त राज शाहीले १ विकेट लिए । खेलमा सिद्धान्त म्यान अफ द म्याच र हिमान्सुले क्याच अफ द मुभमेन्टको पुरस्कार पाउन सफल भए ।
ग्रुप अफ– १६ क्लबले आयोजना गरेको प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिकाका २३ वडाले प्रतिस्पर्धा गरिरहेका छन । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख पुरस्कार पाउनेछ ।