धनगढी । त्रिभुवन मावि धनगढीमा जारी अन्तर विद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा राष्ट्रिय तुल्सीराम माविलाई ५७ रनले हराउँदै त्रिभुवन फाइनलमा पुगेको हो ।
टस हारेर पहिले व्याटिङ गर्दै त्रिभुवनले २० ओभरमा ७ विकेट क्षतिमा १ सय ७ रन बनायो । उसका लागि मन्जु चौधरीले २३ रन सरला वोगटीले १७ रन र अनिता मडईले १६ रन बनाईन् । राष्ट्रिय तुल्सीराम माविका लागि सुजाता चौधरी र दिक्षा रावतले दुई दुई विकेट तथा मनिषा वोहोराले एक विकेट लिईन् ।
त्रिभुवनले दिएको १ सय ८ रनको विजय लक्ष्य पछ्याएको राष्ट्रिय तुल्सीराम १५ ओभरमा अलआउट हुँदै ५० रनमा समेटियो । राष्ट्रियका लागि मनिषा चौधरीले ८ रन र निता मगरले ६ रन बनाए । त्रिभुवनका अनिता मडईले ४ विकेट मनिषा चौधरीले २ विकेट र निता मगरले एक विकेट लिईन् ।
बुधबार नै तय भएको दोस्रो सेमिफाइनल खेल भने वर्षाका कारण स्थगित भएको छ । शारदा मावि र व्रोड भिजन एकेडेमीबीचको खेल वर्षाले प्रभावित गरेको हो । दुईबीचको खेल बिहिबार हुने आयोजकले जनाएको छ ।