एजेन्सी । घरेलु टिम न्युजिल्याण्डविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिज भारतले जितेको छ ।
ह्यमिल्टनमा बुधबार भएको तेस्रो टी-ट्वान्टीमा न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै भारतले सिरिज दुई खेल अगाबै ३-० ले जितेको हो ।
भारतले दिएको १ सय ८० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७९ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा न्युजिल्याण्डले १७ रन बनाएको थियो । जवाफमा भारतले २० रन जोड्दै सिरिज आफ्नो बनायो ।
सुपर ओभरअघि न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ९५ रनको अर्धशतकीय इनिङ्स खेले । मार्टिन गुप्तिलले ३१ रन बनाए । भारतका शार्दुल ठाकुर र मोहमद शामीले २/२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।
भारतको लागि रोहित शर्माले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । २३ बलमा अर्धशतक बनाएका रोहितले ४४ बलमा ३ छक्का र ६ चौका प्रहार गरे । यस्तै कप्तान विराट कोहली ३८ रनमा आउट हुँदा लोकेश राहुलले २७ रन बनाए ।
भारतलाई कम स्कोरमा रोक्न न्युजिल्याण्डका हामीस बेन्नेटले ३ विकेट लिए ।
जितसँगै घरेलु टोलीविरुद्धको पाँच खेलको सिरिजमा भारतले ३-० को अग्रता समेत बनाएको छ । भारतले पहिलो खेलमा न्युजिल्याण्डलाई ६ विकेट र दोस्रो खेलमा ७ विकेटले हराएको थियो ।