एजेन्सी । घरेलु टिम न्युजिल्याण्डविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा भारतले जित हात पारेको छ ।
अकल्याण्डमा शुक्रबार भएको पहिलो खेलमा पाहुना टोली भारतले न्युजिल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।
न्युजिल्याण्डले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको भारतले १९ ओभर ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । भारतको जितमा लोकेश राहुल र श्रेयस आएरले अर्धशतकीय इनिङ्स खेले ।
आएरले सर्वाधिक अविजित ५८ रन बनाउँदा लोकेश राहुलले ५६ रन बनाए । यस्तै कप्तान विराट कोहलीले ४५ रनको योगदान गरे ।
न्युजिल्याण्डका इश सोधिले २ तथा मिचेल साण्टनर र ब्ल्याएर टिक्नरले समान १/१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो । उसका तीन खेलाडीले अर्धशतकीय इनिङ्स खेलेका थिए ।
कोलिन मुन्रोले ५९, रोस टेलरले ५४ तथा कप्तान केन विलियाम्सनले ५१ रन बनाए ।
जितसँगै भारतले पाँच खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।