काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग-२ को तयारी गर्न पोखरामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम भोली (शुक्रबार) काठमाडौं फर्किने भएका छन् ।
पोखरामा एक हप्ता प्रशिक्षण र मलेसियाविरुद्ध तीन मैत्रीपूर्ण खेल खेलको नेपाली टिम शुक्रबार काठमाडौं फर्किन लागेको हो ।
गत पुस २५ गतेबाट पोखरामा बन्द प्रशिक्षण गर्ने भनिए पनि खराब मौसमको कारण केहि दिन काठमाडौंमै इन्डोर प्रशिक्षण गरेर नेपाली टिम पोखरा पुगेका थिए ।
पोखरामा नेपाली टिमले अभ्याससहित मलेसिया टिमसँग ३ एकदिवसीय खेल खेलेको थियो । मलेसियाविरुद्ध क्यान-११ बाट राष्ट्रिय टिमका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए । तीन खेलमा क्यान-११ क्लिन स्विप गरेको थियो ।
पहिलो खेलमा क्यान-११ ले मलेसियालाई १ सय ३४ रनले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा समेत क्यान-११ ले १ सय ७० रनको फराकिलो जित हात पारेको थियो भने तेस्रो खेलमा ५ विकेटले विजयी भएको थियो ।
आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत नेपालले घरेलु मैदानमा अमेरिका र ओमानसँग खेल्नेछ । सिरिज खेल्न नेपाल आउने अमेरिका र ओमान दुवैले टिमको घोषणा गरिसकेका छन् ।
नेपालले भने अबको एक दुई दिनमा टिमको घोषणा गर्ने बताईएको छ ।
नेपालले अमेरिका र ओमानसँग खेल्ने खेल तालिका :
माघ २२ : नेपालविरुद्ध ओमान
माघ २३ : ओमानविरुद्ध अमेरिका
माघ २५ : नेपालविरुद्ध अमेरिका
माघ २६ : नेपालविरुद्ध ओमान
माघ २८ : अमेरिकाविरुद्ध ओमान
माघ २९ : नेपालविरुद्ध अमेरिका