काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको तलब बढाउने तयारी गरेको छ ।
क्यानले आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत अमेरिका र ओमानसँगको सिरिजपछि खेलाडीको श्रेणी बनाएर तलब बनाउने गृहकार्य थालेको छ ।
गत महिना बसेको क्यानको बैठकमा समेत खेलाडीको नयाँ श्रेणी बनाउँदै तलबमा वृद्धि गर्ने बिषयमा छलफल भएको थियो । तर, खेलाडीको तलबमा कति वृद्धि गर्ने भन्ने बिषयमा अर्को बैठकको छलफलबाट टुंगो लाग्नेछ ।
'खेलाडीको नयाँ ग्रेडिङ गर्दै तलब बढाउन पर्छ भनेर यस अघिको बैठकमा छलफल भएको छ,' क्यानका एक पदाधिकारीले भने, 'हामीले मात्र चाहेर हुँदैन । यसमा आईसीसीको सहमति पनि चाहिन्छ । अबको बैठकले वृद्धि गर्नेबारे छलफल हुनेछ ।'
अमेरिका र ओमानसँगको खेल अघि भने खेलाडीको तलबमा वृद्धि गर्ने बिषयमा छलफल हुने छैन । क्यान निलम्बन फुकुवापछि पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को अफिसियल खेल आयोजना गर्ने जिम्मा पाएको क्यान सिरिजलाई सफल पार्न चाहान्छ ।
सिरिज सकिएसंगै क्यानको बैठकमा खेलाडीको तलबमा वृद्धिमा छलफल हुने र आईसीसीलाई प्रस्ताब गर्ने स्रोतको भनाई छ ।
यसअघि नेपाली खेलाडीले तीन श्रेणी अनुसार तलब पाउदै आएका थिए । 'ए' श्रेणीका खेलाडीले ३५ हजार, 'बी' ले २५ हजार र 'सी' ले १५ हजार मासिक तलब पाउने गरेका छन् ।
यस्तै महिला क्रिकेटरको तलबको बिषयमा समेत क्यानले केहि निर्णय गर्ने बताईएको छ । हालसम्म महिला क्रिकेटरले कुनै तलब र सुबिधा पाउने गरेका छैनन् ।
'ए' श्रेणीका खेलाडी :
पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने
'बी' श्रेणीका खेलाडी :
आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिल कुमार शाह, रोहित पौडेल, ललित राजबंशी र शक्ति गौचन (सन्यास घोषणा)
'सी' श्रेणीका खेलाडी :
सुबास खकुरेल, सागर पुन, दिलिप नाथ, सुनिल धमला, सुशन भारी, प्रदिप ऐरी र बिनोद भण्डारी