काठमाडौं । दोस्रो मैत्रीपूर्ण खेलमा क्यान-११ ले मलेसिया-११ लाई २ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको क्यान-११ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९० रन बनायो ।
क्यानको लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । ५० बल खेलेका उनले ५५ रन बनाएर रिटायर्ड भए ।
यस्तै रोहित कुमार पौडेलले समेत ५४ रनको पाली खेल्दै रिटायर्ड गर्दा सुबास खकुरेलले ४८ रनमा आउट भए । लोकेश बमले ३२, बिनोद भण्डारीले २१ र सुनिल धमलाले २३ रनको योगदान गरे ।
सोमबार भएको पहिलो मैत्रीपूर्ण खेलमा क्यान-११ ले १ सय ३४ रनको जित निकालेको थियो ।
विश्व क्रिकेट लिग-२ अन्तर्गत अमेरिका र ओमानसँगको सिरिजका लागि अहिले नेपाली टिमले पोखरामा अभ्यास गरिरहेको छ ।
अभ्यासमा रहेका खेलाडीले नै क्यान-११ बाट खेल्दै आएका छन् ।