काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका भरपर्दा ब्याट्सम्यान तथा पूर्व कप्तान पारस खड्काले किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल्नु जीवनको एक उत्कृष्ट पल रहेको बताएका छन् ।
आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत नेपालले माघ अन्तिम साता अमेरिका र ओमानसँग त्रिवि क्रिकेट मैदानमा खेल्दैछ । उक्त सिरिजअघि खेलपाटीसँग कुरा गर्दै पारसले कीर्तिपुरमा घरेलु दर्शक सामु खेल्नु जीवनको उत्कृष्ट क्षण रहने बताए ।
'किर्तिपुरमा खेल्नु 'वान अफ द बेष्ट फिलिङ्स,' पारसले भने, 'घरेलु भूमिमा खचाखच समर्थकको साथमा खेल्नुमा छुट्टै खुसी हुन्छ । देशको प्रतिनिधित्व गर्दा हामीले जुन समर्थन पाउँछौं, त्यो समर्थनको बेग नै छुट्टै हुन्छ ।'
त्रिवि क्रिकेट मैदान नेपालको एक मात्र अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला हो । नेपालले माघ २२ गते देखि २९ गतेसम्म अमेरिका र ओमानसँग त्रिवि मैदानमा खेल्दै छ ।
नेपालले हरेक अन्तराष्ट्रिय खेल त्रिवि क्रिकेट मैदानमा खेल्दै आएको छ र मैदानमा नेपालले दर्शकको समेत राम्रो साथ पाउने गरेको छ ।
त्रिवि मैदानमा समर्थकहरु नेपालका लागि सधै १२ औं खेलाडी हुने गर्छन । नेपालको हरेक खेलमा दर्शकदिर्घा खचाखच भरिने गरेको छ । यस पटकको सिरिजमा पनि पारसले समर्थकको त्यहिँ मायाको आशा गरेका छन् ।
सिरिजका लागि त्रिविमा नयाँ पिच तयार भईरहेको छ । त्रिविको नयाँ पिचले नेपाली दर्शकलाई निरास नबनाउने पनि पारसले आशा गरेका छन् ।
'पहिलो एकदिवसीय सिरिज आयोजनाका लागि त्रिविमा आईसीसीको मापदण्ड अनुसार पिच तयार हुँदै छ । आशा छ राम्रो पिच बन्छ र हामीले राम्रो क्रिकेट खेल्नेछौं,' पारसले भने, 'होम कन्डिसनले फाइदा हुन्छ तर ओमान र अमेरिका राम्रो टिम हो त्यसैले अन्त्यमा राम्रो क्रिकेट खेल्नुको बिकल्प छैन । घरेलु दर्शक सामु राम्रो क्रिकेट खेल्दै जितेर सबैलाई खुसी बनाउने टिमको लक्ष्य छ ।'
विश्व क्रिकेट लिग-२ का लागि नेपाली टिम अहिले पोखरामा बन्द प्रशिक्षणमा रहेका छन् । नेपाली टिमले मलेसियाको टिमसँग अभ्यास खेल खेलिरहेको छ ।