काठमाडौं । मलेसियाविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा क्यान-११ ले फराकिलो जित हात पारेको छ । सोमबार भएको पहिलो खेलमा क्यान-११ ले मलेसियालाई १ सय ३४ रनले हराएको हो ।
पोखरा रंगशालामा क्यानले दिएको २ सय ७७ रनको लक्ष्य पछ्याएको मलेसिया ३२ ओभर २ बलमा अलआउट हुँदै १ सय ४२ रनमा समेटियो । उसका ऐनोल हकिम र शेद अजिजले समान २८/२८ रन बनाए ।
यस्तै भिरन्दीप सिंह २४, मोहमद अरिफ १६ र सैभिनले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
क्यानका करण केसी र कमल सिंह ऐरीले समान ३/३ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानले ४७ ओभरमा ९ विकेट गुमाएर २ सय ७६ रन बनाएको थियो । क्यानका लागि आरिफ शेखले शतकीय इनिङ्स खेले । उनले १ सय १ रनको इनिङ्स खेल्दा रिटायर्ड भए ।
यस्तै सन्दीप जोराले ५८ रनको अर्धशतकीय इनिङ्स खेल्दा करण केसीले २५ , ज्ञानेन्द्र मल्लले १९, पारस खड्काले १५, कुशल मल्लले १४ र सुबास खकुरेलले १२ रन बनाए ।
मलेसियाका मोहमद अरिफ र पवान्दिप सिंहले समान ३/३ विकेट लिए ।