एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा दोस्रो हार व्यहोरेको छ ।
सोमबार भएको खेलमा सिड्नी सिक्सर्ससँग डीएल पद्दतिको आधारमा २१ रनले पराजित हुँदै मेलबर्नले लिगमा दोस्रो हार व्यहोरेको हो ।
सिड्नीले दिएको १ सय ४४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मेलबर्नले १४ ओभरमा ५ विकेट गुमाएर १ सय २५ रन मात्र बनाउन सक्यो ।
मेलबर्नका लागि मार्कुस स्टोनिसले ६३ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै हिल्टन क्याटराइटले २१ रन बनाए ।
सिड्नीका बेन र टम करणले २/२ विकेट लिए ।
यसअघि वर्षाले प्रभावित गरेपछि १४ ओभरमा झारिएको खेलमा घरेलु टोलीले पुरै ओभर खेल्दै ३ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो ।
सिड्नीका लागि कप्तान मोइसेस हेन्रिक्सले सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै जेम्स भिन्सले अविजित ४१ रन बनाए ।
मेलबर्नका लागि सन्दीपले २ विकेट लिए । ३ ओभरमा ३८ रन खर्चिएर सन्दीपले २ विकेट लिएका हुन् । पहिलो ओभरमा ३ रन खर्चिएर २ विकेट लिएका सन्दीप बाँकी दुई ओभरमा भने महँगा साबित भए ।
यससंगै सन्दीपले यस सिजन ११ खेलमा १४ विकेट हात पार्न सफल भएका छन् ।
जितसँगै सिड्नी लिगको दोस्रो स्थानमा उक्लिएको छ । सिड्नीले १२ खेलमा १५ अंक जोडेको छ ।
मेलबर्न १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।