एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सलाई बिग बास लिग (बीबीएल) क्रिकेटमा सिड्नी सिक्सर्सले जितका लागि १ सय ४४ रनको लक्ष्य दिएको छ ।
सिड्नीमा वर्षाले प्रभावित गरेपछि १४ ओभरमा झारिएको खेलमा घरेलु टोलीले पुरै ओभर खेल्दै ३ विकेट गुमाएर १ सय ४३ रन बनायो ।
सिड्नीका लागि कप्तान मोइसेस हेन्रिक्सले सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै जेम्स भिन्सले अविजित ४१ रन बनाए ।
मेलबर्नका लागि सन्दीपले २ विकेट लिए । ३ ओभरमा ३८ रन खर्चिएर सन्दीपले २ विकेट लिएका हुन् ।
पहिलो ओभरमा ३ रन खर्चिएर २ विकेट लिएका सन्दीप बाँकी दुई ओभरमा भने महँगा साबित भए ।
लिगको १२ औं खेलमा मेलबर्नले सिड्नीसँग उसैको मैदानमा खेलिरहेको हो । मेलबर्नले टस जितेर पहिले बलिङ गरिरहेको छ ।
सिड्नीविरुद्ध आज मेलबर्न ११ औं जितको खोजीमा रहेको छ ।
मेलबर्न ११ खेलमा १० जितसहित २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । सिड्नीविरुद्ध जित निकाल्दै मेलबर्न उक्त जितको लय कायम राख्न चाहन्छ ।
सिड्नी ११ खेलमा ६ जितसहित १३ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ ।