काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवाल नेपाल फर्किएका छन् । व्यक्तिगत कारण देखाउदै स्वदेश गएका पटवाल बिहिबार नेपाल फर्किएका हुन् ।
विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्व क्रिकेट लिग-टु को बन्द प्रशिक्षणका लागि पटवाल नेपाल फर्किएका हुन् । नेपाल फर्किएसंगै पटवाल बिहिबारै पोखरा पुगेका छन् ।
प्रशिक्षक पटवालले शुक्रबारबाट टिमलाई हेर्ने टिम म्यानेजर ऋषिराम गौतमले जानकारी गराए ।
'प्रशिक्षक पटवाल पोखरा आईपुग्नु भएको छ ।' ऋषिरामले खेलपाटीसंग भने, 'भोलीबाट क्याम्पमा खेलाडीसँग जोडिनु हुनेछ ।'
विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरिका र ओमानसँगको सिरिजका लागि नेपालले प्रशिक्षक पटवाल बिनै बुधबारबाट पोखरामा बन्द प्रशिक्षण सुरु गरेको थियो ।
यसअघि कागजपत्र (पासपोर्ट) को कारण पटवाल नेपाल आउन ढिलाई भईरहेको बताईएको थियो । पटवाल नेपाल नआईपुगेपछि टिमको बन्द प्रशिक्षण पूर्व प्रशिक्षक जगत टमटाले सम्हाल्दै आएका थिए ।
गत पुस २५ गतेबाट पोखरामा बन्द प्रशिक्षण गर्ने भनिएपनि खराब मौसमको कारण केहि दिन खेलाडीले काठमाडौंमै इन्डोर प्रशिक्षण गरेका थिए ।
पहिलो दिन पोखरा रंगशालामा अभ्यास गरेको नेपाली टोलीले बिहिबार भने खराब मौषमको कारण जिम लगायतको इन्डोर प्रशिक्षण मात्र गरेको छ । शुक्रबार पनि खराब मौषम रहे खेलाडीले इन्डोर हलमा नेटिङ प्रशिक्षण गर्ने छन् ।
यस्तै राष्ट्रिय टिमको प्रशिक्षण सुरु भएपनि सबै खेलाडी बन्द प्रशिक्षणमा छैनन् । सुनसरीमा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको कारण धेरै खेलाडी बन्द प्रशिक्षणमा सामेल भएका छैनन् ।
एमएम कप सकिएपछि खेलाडीहरु पोखरा पुग्नेछन् ।