काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरिका र ओमानसँगको सिरिजका लागि नेपालले बुधबारबाट पोखरामा बन्द प्रशिक्षण सुरु गरेको छ ।
पोखरा रंगशालामा सुरु बन्द प्रशिक्षणमा २४ खेलाडीलाई बोलाईएको छ । तर, नेपाली टोलीले मुख्य प्रशिक्षक उमेश पटवाल बिनै बन्द प्रशिक्षण थालेको छ ।
भारतीय प्रशिक्षक पटवाल व्यक्तिगत कारण देखाउँदै एक महिना अघि स्वदेश फर्किएका थिए ।
टिमको बन्द प्रशिक्षणको मिति तय भएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षक पटवाललाई खबर गरेको थियो । तर, उनी अझै नेपाल आइपुगेका छैनन् ।
कागजपत्र नमिलेको कारण पटवाल नेपाल आउन ढिलाई भईरहेको बताईएको छ । तर, पटवालले भने नेपाल आउने मिति पटक पटक सार्दै आएका छन् । यस अघि उनले पुस २३ देखि २७ भित्र नेपाल आउने क्यानलाई जानकारी गराएका थिए ।
पटवाल नेपाल नआईपुगेपछि टिमको बन्द प्रशिक्षण पूर्व प्रशिक्षक जगत टमटाले हेरिरहेका छन् ।
क्यानमा सचिब अशोकनाथ प्याकुरेलले पटवालले माघ १ र २ भित्र नेपाल आउने जानकारी गराएको बताए ।
'जनवरी १५/१६ मा नेपाल आउने पटवालले जानकारी गराएका थिए । अझै आउनु भएको छैन,' प्याकुरेलले भने, 'पटवाल नहुँदा जगत गुरुले बन्द प्रशिक्षण हेर्दै आउनु भएको छ ।'
राष्ट्रिय टिमको प्रशिक्षण सुरु भएपनि सबै खेलाडी बन्द प्रशिक्षणमा छैनन् । सुनसरीमा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको कारण धेरै खेलाडी बन्द प्रशिक्षणमा सामेल भएका छैनन् ।
एमएम कप सकिएपछि खेलाडीहरु पोखरा पुग्नेछन् । क्रिकेटमा नै ब्यस्त रहेको कारण क्यानले समेत खेलाडीलाई कुनै दबाब दिएको छैन ।
'खेलाडीहरु क्रिकेटमा नै ब्यस्त रहेका छन् । त्यसैले क्याम्प संचालन समितिले कुनै दबाब दिएको छैन,' सचिब प्याकुरेलले भने ।
बन्द प्रशिक्षणमा बोलाईएको २४ खेलाडी मध्ये १७ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् ।
गत पुस २५ गतेबाट पोखरामा बन्द प्रशिक्षण गर्ने भनिएपनि खराब मौसमको कारण केहि दिन खेलाडीले काठमाडौंमै इन्डोर प्रशिक्षण गरेका थिए ।