एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सन् २०२४ को टी–ट्वान्टी विश्वकपमा सहभागी राष्ट्रको संख्या बढाउने तयारी गरेको छ ।
आईसीसीले ४ राष्ट्रलाई थप गर्दै १६ सहभागी राष्ट्रबाट अब २० पुर्याउने लागेको हो ।
रिपोर्ट अनुसार टी–ट्वान्टी ढाँचाको क्रिकेटको लोकप्रियता बढाउन आईसीसीले गृहकार्य गरिरहेको छ । आईसीसीले क्रिकेटलाई विश्वको प्रशिद्ध खेल फुटबल र बास्केटबल जस्तै बनाउन चाहेको छ ।
’सन् २०२३ देखि २०३१ सम्मको क्रिकेट सत्रमा लामो छलफल भएको छ । टी–ट्वान्टी विश्वकप सन् २०२४ मा हुनेछ ।’ रिपोर्टमा उल्लेख छ ।
टी–ट्वान्टी क्रिकेटले ठुलो संख्यामा समर्थक बटुल्ने भएकाले आईसीसीले विभिन्न प्रचारका कार्यक्रम गर्दै आएको थियो ।
अमेरिका, क्यानाडा, जर्मनी, नाइजेरिया जस्ता राष्ट्रमा क्रिकेटको लोकप्रियता बढाउन आईसीसीले बिभिन्न प्रतियोगिता आयोजना गर्दै आएको छ ।
र, २० राष्ट्रको सहभागिता भए धेरै राष्ट्रका समर्थक क्रिकेटमा रमाउन सक्ने आईसीसीको विश्वास छ ।
आईसीसी २० राष्ट्रलाई विश्वकपमा समावेश गर्दै प्रतियोगिता आयोजना गर्न दुई विकल्प तयार गरेको छ ।
पहिलो, विश्व कप छनोट खेलेर आउने टिमले लिग चरणमा ठुला ठुला राष्ट्रसंग खेल्नेछन् ।
दोस्रो, आईसीसीले ४ समुह बनाएर ५ राष्ट्रलाई बिभाजन गर्नेछ र हरेक समुहबाट शीर्ष स्थानको राष्ट्रलाई नकआउट चरणमा लैजाने छ ।
आईसीसीको पछिल्लो योजनाले आकार लिएमा नेपाल जस्ता क्रिकेटमा सम्भावना भएका राष्ट्रले नियमित रुपमा विश्वकप खेल्न पाउनेछन् ।