काठमाडौं । छैटौं संस्करणको राष्ट्रिय इक्वेस्ट्रियन (घोडचढी) प्रतियोगिताको हर्स हाई जम्पको उपाधि खिलध्वज खड्काले जितेका छन् ।
टुडिखेलमा शुक्रबार भएको प्रतियोगितामा खड्काले रामबहादुर दाहाललाई पछि पार्दै उपाधि जितेका हुन् । सविन कुमार पोखरेल तेस्रो भए ।
हर्स शो जम्पमा योगबहादुर बस्नेतले उपाधि जिते । लालबहादुर कुँवर दोस्रो र रामबहादुर दाहाल तेस्रो भए ।
टेन्ट पेगीङमा रुद्रबहादुर कार्की पहिलो हुँदा गोविन्दबहादुर खड्का दोस्रो र लक्ष्मण रावल तेस्रो भए ।
हर्स शो जम्प, हर्स हाई जम्प र टेन्ट पेगीङको विजेताले २० हजार, उपविजेताले १५ हजार र तेस्रोले १० हजार प्राप्त गरे ।
प्रदर्शन खेल अन्तर्गत ६ क्रस बार जम्पमा महिला खेलाडी प्रतिस्पर्धा गरेका थिए । उनीहरुलाई प्रोत्साहन वापत जनही पाँच हजार प्रदान गरिएको थियो । यसरी पुरस्कृत हुनेमा हरिमाया गुरुङ, शारदा केएम, कविता थापा र सरिता श्रेष्ठ रहेका छन् ।
नेपाल इक्वेस्ट्रियन (घोडचढी) संघले आयोजना गरेको एक दिने प्रतियोगितामा २६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।