काठमाडौं । जापानमा आयोजना हुने टोकियो ओलम्पिक र पाराओलम्पिकमा सहभागी हुने खेलाडीको लागि सुत्ने खाट (बेड) कार्टुनबाट बनाईने भएको छ ।
प्रतियोगितालाई वातावरण मैत्री बनाउने उदेश्यसहित जापानले स्पोर्ट्स भिजेलमा बस्ने खेलाडीको बेड कार्टुनबाट बनाउने भएको हो ।
टोकियो ओलम्पिकका लागि १८ हजार र पाराओलम्पिकका लागि ८ हजार बेड निर्माण गरिने छ । जुन बेड कार्टुनलाई रिसाइकल (पुनः प्रयोग) गरेर निर्माण गरिने भएको छ । बेड २.१० मिटर लामो र २ सय केजी तौल धान्न सक्ने हुनेछ ।
यस्तै ओछ्यानका लागि डस्ना लगायतका सामग्रीहरु पनि प्लास्टिक जन्य बस्तुहरुलाई रिसाइकल गरेर बनाईने छ ।
जापानले पदक विजेता खेलाडीले पाउने 'मेडल' (तक्मा) पनि पुराना विधुतीय सामान (इलेक्ट्रोनिक फोहोर) को धातुबाट रिसाइकल गरेर बनाएको छ । विधुतीय फोहोरबाट सुन, चाँदी र पित्तल जस्ता मूल्यवान धातु निकालेर पदक तयार गरिएको छ ।
टोकियो ओलम्पिक २४ जुलाई देखि अगस्ट ९ सम्म हुनेछ । यस्तै अगस्ट २५ देखि ६ सेप्टेम्बरसम्म पाराओलम्पिक हुनेछ ।