काठमाडौं । छैटौं संस्करणको राष्ट्रिय इक्वेस्ट्रियन (घोडचढी) प्रतियोगिता अर्को साता आयोजना हुने भएको छ ।
नेपाल इक्वेस्ट्रियन (घोडचढी) संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस २५ गते हुने जनाएको छ ।
टुडिखेलमा आयोजना हुने एकदिने प्रतियोगितामा २६ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । जसमा ६ जना महिला खेलाडी रहेका छन् ।
प्रतियोगितामा हर्स शो जम्प, हर्स हाई जम्प, ६ क्रस बार एण्ड शो जम्प र हर्स टेन्ट पेगीङमा प्रतिस्पर्धा हुनेछ । हर्स शो जम्प, हर्स टेन्ट पेगीङ र हर्स हाई जम्पमा पुरुषले मात्र प्रतिस्पर्धा गर्दा ६ क्रस बार एण्ड शो जम्पमा महिलाले मात्र प्रतिस्पर्धा गर्नेछन् ।
हर्स शो जम्प, हर्स हाई जम्प र टेन्ट पेगीङको विजेताले २० हजार, उपविजेताले १५ हजार र तेस्रोले १० हजार पाउनेछन् । ६ क्रस बार जम्पका महिला विजेतालाई पनि पुरस्कृत गरिनेछ ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष रबि राज कर्णिकारले आम मानिसमा घोडचढी खेल्ने वातावरण बनाउन प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
कार्यक्रममा संघले प्रायोजकको रुपमा कतार एयरवेज, लियोन मोटर्स र जगदम्बा मोटर्स (टिभीएस) सँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।
संघका अध्यक्ष कर्णिकारले लियोनका उपाध्यक्ष आशिष श्रेष्ठ र जगदम्बाका जीएम दिपक प्रसाद रौनियारसँग छुट्टाछुट्टै सम्झौता पत्रमा हस्ताक्षर गरे ।