धनगढी । ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटकी कविता कुँवर सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा वर्ष खेलाडी घोषित भएका छन् ।
खेलकुद पत्रकार मञ्च कैलालीले पहिलो पटक आयोजना गरेको अवार्डमा पुरुषतर्फ प्रिन्स र महिलामा कविताले वर्ष खेलाडी अवार्ड जितेका हुन् । मंगलबार आयोजित एक कार्यक्रममा प्रिन्स र कवितालाई अवार्ड प्रदान गरिएको थियो ।
पुरुषतर्फको अवार्ड जित्ने क्रममा प्रिन्सले मनोनयनमा परेका क्रिकेटका खडक बोहोरा र भारात्तोलनका सागर भण्डारीलाई पछि पारेका थिए ।
यस्तै कविताले कुस्तीकी संगीता धामी र हक्कीकी विन्दु विष्टलाई पछि पारिन् । वर्ष खेलाडी अवार्डसँगै प्रिन्स र कविताले नगद २५ हजार प्राप्त गरे ।
वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड भारात्तोलनका सागर भण्डारीले प्राप्त गरे । उनले फुटबलकी चन्द्रा भण्डारी र उसुकी अलिशा खातीलाई पछि पारेका थिए । उनले पनि २५ हजार प्राप्त गरे ।
उत्कृष्ट वर्ष प्रशिक्षक अवार्ड भारात्तोलनका जीवन गौतमले हात पारे ।
यस्तै स्पेशल अवार्ड भने कैलाली जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दिपक सिंहलाई प्रदान गरिएको छ।
लाईफ टाईम एचिभमेन्ट अवार्ड भने सुदूरपश्चिमको खेल जगतका हस्ती श्याम सुन्दर शर्मालाई प्रदान गरिएको छ।
लाईफ टाईम तथा स्पेशस अवार्ड विजेतालाई समान १०/१० हजार प्रदान गरिएको छ ।