धनगढी । पहिलो कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्ट्स अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ ।
आयोजक खेलकुद पत्रकार मञ्च कैलालीले पहिलो पटक आयोजना गर्न लागेको अवार्डको तयारी पूरा भएको जनाएको हो ।
मंगलबार आयोजना हुने अवार्डका लागि खेलाडीहरु धनगढी पुग्ने क्रम सुरु भईसकेको छ भने अन्य आन्तरिक तयारी पनि पूरा भएको खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले बताए ।
अवार्ड कार्यक्रममा ६ वटा विधामा अवार्ड प्रदान गरिने छ । अवार्डमा वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष युवा खेलाडी, वर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ ।
वर्ष पुरुष खेलाडी अवार्डका लागि ब्याटमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका खडक बोहरा र भारात्तोलनका सागर भण्डारी मनोनयनमा परेका छन ।
वर्ष महिला खेलाडीको मनोनयनमा क्रिकेटकी कविता कुँवर, कुस्तीकी संगीता धामी र हक्कीकी विन्दु विष्ट रहेकी छिन् ।
वर्ष प्रशिक्षकमा भारात्तोलनका जीवन गौतम, कुस्तीका राजेन्द्र चन्द र क्रिकेटका ज्ञानेन्द्र क्षेत्री मनोनयनमा परेका छन् ।
वर्ष युवा खेलाडीमा भारात्तोलनका सागर भण्डारी, फुटबलकी चन्द्रा भण्डारी र उसुकी अलिशा खाती मनोनयनमा परेकी छिन् ।
चार वटा विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड पाउनेलाई नगद १० हजार सहित ट्रफी र मेडल प्रदान गरिने छ ।