काठमाडौं । तेश्रो संस्करणको समृद्ध रुकुम फीडे रेटिङ अन्तराष्ट्रिय चेस प्रतियोगिताको उपाधि भारतका ऋषभ निसादले हात पारेका छन् । अन्तिम चरणमा साविक विजेता सुमित पन्तलाई हराउदै ऋषभले उपाधि जितेका हुन् । उपाधि सहित निसादले ५० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा ७ अंक सहित मदनकृष्ण कायस्थ दोश्रो तथा कृष्ण थापा तेश्रो भए । ६.५ अंक भएका राजन सुबेदी चौथो तथा सुमित पन्त पाचौ भए ।
उपविजेता कायस्थले ३० हजार तथा तेश्रो भएका थापाले २० हजार रुपैयाँ पुरस्कार पाए । चौथो हुने सुबेदीले १६ तथा पन्तले १५ हजार रुपैया पुरस्कार पाए ।
६ अंक भएका नविन तण्डुकार, बद्री लाल नेपाली, भारतकी विधार रुतुम्बरा, मिलन लामा र सुमन राइ छैठौ देखि १० औ स्थानमा रहे ।
यसैगरी, अनरेटेडमा सुरेन्द्र थापा, रेटिङ १३०० मुनी दिपक धामी, १६०० मुनी भारतका संकल्प आरोहा, भारतीय खेलाडी १९०० मुनी सौरभ चौवे तथा भेट्रानमा दिपेन्द्र पुन पहिलो भए ।
१४ वर्ष मुनी गितान्स सेठ र १८ वर्ष मुनी युवराज पौडेल पहिलो भए । प्रदेशका ५मा रुकुमका मिलन रोक्का पहिलो तथा बर्दीयाका सुरेस चौधरी दोश्रो भए । पूर्व रुकुममा ववीदेवल पुन तथा पश्चिम रुकुमका खिम बहादुर पुन पहिलो भए ।
विजयी खेलाडीलाई प्रमुख अतिथी प्रदेश सभा सदस्य देवी ओलीले पुरस्कार प्रदान गरिन् ।
पुरस्कार वितरण समारोहमा नेपाल बुद्धीचाल संघका महासचिव हेराकाजी मर्हजन, प्रतियोगिता संयोजक सुबोध राज सेर्पाली, प्रतियोगिता निर्देशक ई प्रदिप कुमार खत्री लगायतको उपस्थिती थियो ।
स्वीस लिग चरणमा सञ्चालित प्रतियोगितामा नेपाल र भारत सहित ६६ जना खेलाडीको सहभागिता रहेको थियो । रुकुममा चेस खेलको विकासका साथै पर्यटकीय महत्वलाई प्रस्फुटित गर्ने उद्धेश्यले प्रतियोगिता सञ्चालन गरिएको आयोजक कमिटीका प्रमुख सेर्पालीले जानकारी दिए ।