धनगढी । पहिलो सुदूरपश्चिम स्पोर्टस अवार्डका लागि चार विधाको खेलाडी मनोनयन सार्वजनिक गरिएको छ ।
आयोजक खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मनोनयन सार्वजनिक गरेको हो ।
पुस १५ गते आयोजना हुने अवार्डका लागि प्रदान गरिने विभिन्न ६ वटा विधा मध्ये चार विधाको मनोनयन सार्वजनिक गरिएको हो ।
शारदा राईस मिल वर्ष पुरुष खेलाडी अवार्डका लागि ब्याटमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका खडक बोहरा र भारात्तोलनका सागर भण्डारी मनोनयनमा परेका छन ।
यस्तै निसर्ग हस्पिटल वर्ष महिला खेलाडीको मनोनयनमा क्रिकेटकी कविता कुँवर, कुस्तीकी संगीता धामी र हक्कीकी विन्दु विष्ट रहेकी छिन् ।
दिनेश सोप वर्ष प्रशिक्षकमा भारात्तोलनका जीवन गौतम, कुस्तीका राजेन्द्र चन्द र क्रिकेटका ज्ञानेन्द्र क्षेत्री मनोनयनमा परेका छन् ।
केटिएम वाईक वर्ष युवा खेलाडीमा भारात्तोलनका सागर भण्डारी, फुटबलकी चन्द्रा भण्डारी र उसुकी अलिशा खाती मनोनयनमा परेकी छिन् ।
अवार्डमा वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष युवा खेलाडी, वर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ ।
चार वटा विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड पाउनेलाई नगद १० हजार सहित ट्रफी र मेडल प्रदान गरिने छ ।
यस्तै अवार्डको मुख्य प्रायोजक धनगढीको कैलाली हस्पिटल रहने भएको छ । मञ्चले बिहिबार कैलाली हस्पिटलसँग सम्झौता गरेको छ ।
कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशी र नेपाल खेलकुद पत्रकार मञ्चका सल्लाहकार दीपक उपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गरे ।