काठमाडौं ।
घरेलु फुटबलमा सन्तोष शाहुखल पुन एकपटक चर्चामा छन् ।
यसको खास कारण छ ।
घरेलु फुटबलमा सन्तोषले कोर्न लागेको कोशेढुङ्गा वास्तवमै अविश्वसनीय छ ।
धेरै खेलाडीका लागि स्वपनिल कल्पना भने नि हुन्छ ।
सिधा सिधा भन्न पर्दा सन्तोषले घरेलु फुटबलमा सय गोल पुरा गर्ने संघारमा छन् । उनको गोल संख्या ९९ पुगेको छ ।
सन्तोष नेतृत्वको च्यासल युथले बुधबार न्युरोड टिमसंग खेल्दैछ । सो खेलमा सन्तोषले गोल गरेको खण्डमा घरेलु फुटबलमा सय गोलको पहिलो कीर्तिमान उनको नाममा लेखिनेछ ।
यसै सन्दर्भमा नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार सन्तोषसंग अनौपचारिक अन्तरक्रिया गर्यो । सन्तोषको कुरा सुन्यो ।
उनको खेल जिवनका अतित, वर्तमान र भविष्य उघिन्ने प्रयास गर्यो ।
जब सन्तोष स्टेजमा उक्लिए । उनी पुरा पुरा फेरिएको देखिन्थे ।
कस्तो नरम अनि कति विनम्र ।
सन्तोष साच्चिकै बदलिएका छन् । उनको सोच बदलिएको देखिन्थ्यो । उनको सोच अभिब्यक्त गर्ने शैली फेरिएको प्रष्ट देखिन्थ्यो ।
मैदानमा सन्तोषको खेल मात्र फेरिएको छैन । कुरा सुन्दा लाग्छ, उनको फुटबल दर्शननै बदलिएको छ ।
सुरुमा उनले पुरा गर्न लागेको सय गोलको प्रशंग !
सय गोलबारे सन्तोष के सोचिरहेका छन् त ?
‘सय गोल गर्छु भन्ने छ । तर अलि बेशीनै सोचेको छु । लिगमा १५–१६ बढी गोल गर्ने लक्ष्य छ ।’ उनले घरेलु लिगमा फर्किएको लक्ष्यबारे प्रष्ट पारे ।
अलिकति उनको विगततर्फ जाउँ !
सन्तोषले थ्री स्टारको जर्सीमा संकटाविरुद्व खेल्दै घरेलु फुटबलमा डेब्यु गरेका थिए । सो खेल संकटाले ३–२ ले जित्यो । तर दशौं मिनेटमा गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाउने काम सन्तोषले गरेका थिए । त्यसपछि सुरु भएको उनको फुटबल करियरले निरन्तर उडान भरिरह्यो । उनी घरेलु फुटबलका लागि सधै हटकेक बनिरहे ।
उनले सम्झिने खेल भनेको ब्रिटिस गोर्खा कपको रहेछ ।
सो खेल थ्री स्टारले २–१ जितेको थियो ।
उनी परिक्षा दिएर फर्किएका थिए । मैदानमा थ्री स्टार १–० ले पछाडी थियो । तर अन्तिममा खेल थ्री स्टारले २–१ ले जित्न सफल रह्यो । निर्णायक गोल गर्ने उनै सन्तोष थिए ।
लिग फुटबलमा भने उनलाई हिमालयन शेर्पाविरुद्वको खेल विशेष लाग्दो रहेछ ।
सन्तोषको टिम ३–२ ले विजयी बनेको थियो । बराबरीतर्फ उन्मुख खेलको अन्तिम समयमा सन्तोषले हेडबाट गोल गर्दै टिमलाई जिताएका थिए ।
उपत्यकाका रैथाने सन्तोषले परिवारमै फुटबलको माहोल पाए । सानो छदाँ दाजु बालगोपाल बल लिएर घर आउथे । सन्तोष खेल्न मिसिन्थे । बाबु बालकृष्ण पनि छोराहरुलाई फुटबल हेर्न दशरथ रंगशाला लैजान्थे ।
सानो उमेरमै उनमा फुटबलको लत बस्यो । सन्तोषले एक दिन रंगशालामै खेल्ने अठोट त्यही समय लिएका थिए ।
दाजुको प्रेरणा अनि परिवारको सहयोग ।
सन्तोषको रंगशालामा खेल्ने सपना समेत पुरा हुने थियो ।
खेल परिस्कृत बन्दै जादाँ उनले राष्ट्रिय टिमको जर्सी समेत लाउन पाए ।
तर घरेलु फुटबलका सर्वाधिक गोलकर्ता सन्तोष राष्ट्रिय टिममा भने चम्किन सकेनन् । उनी धेरै समय प्रशिक्षकको विकल्पको रुपमै रहे ।
‘मेरो आफ्नो खेल्ने स्टाइल थियो । तर प्रशिक्षकले जसले कुद्न सक्छ, उसैलाई प्राथमिकता दिन्थे ।’ मन्द मुस्कन सहित पत्रकारका अगाडी उभिएका सन्तोषले भने, ‘क्लबबाट खेल्दा दबाब भएन । आफैले सोचे अनुसार खेल्दा धेरे गोल गर्न सफल रहे ।’
उनले धेरै समय थ्री स्टारका लागि खेले । धेरै गोल पनि गरे । अनि सर्वाधिक महङ्गो रकममा उनी मनाङसम्म पुगे ।
गोल, खेल अनि पैसाले सन्तोष सधै घरेलु फुटबलको ‘टाईमलाईन’मै रहे ।
सन्तोषलाई अझैपनि थ्री स्टारको माया लाग्छ । हरेक पदाधिकारी परिवार जस्तै लाग्छ । गत सिजन लिग सुरु हुँदै गर्दा उनले थ्री स्टारलाई सम्झिएका रहेछन् । तर थ्री स्टारले उनलाई सम्पर्क गरेन ।
अन्तिममा उनी च्यासलमार्फत घरेलु लिगमा फर्किए ।
उनलाई अझै राष्ट्रिय टिमबाट खेल्ने ईच्छा छ ।
‘राष्ट्रिय टिममा खेल्ने ईच्छा छ । जापानमा बसेर काम गरिरहेको छु । सबै चिज मिलेमा खेल्छु भन्ने सोचेको छु ।’ उनी भन्छन् ।
करियरको उच्च फर्ममा रहदाँ सन्तोषमा नि दम्भ थियो । उनी आफै त्यो स्विकार गर्छन् ।
टिममा नपर्दा होस वा मैदानबाट परिवर्तन हुदाँ सन्तोषले धेरै पटक विरोध जनाएका छन् ।
उमेर थियो । जोश थियो । सायद दम्भ पनि ।
‘टिम बाहिर हुँदा म किन नहुने । मलाई किन छनोट नगरेको भन्ने हुन्थ्यो ।’ शान्त भावमा सन्तोषले पुराना दिन सम्झिए, ‘एक पटक टिममा नपरेपछि म खेल्दिन । तलाई जे मन लाग्छ, त्यही गर भनेर प्रशिक्षकलाई भनेको छु ।’
समय बलवान हुने रहेछ ।
समयसंगै सोच र चेतना बदलिएको छ ।
‘जापान गएर धेरै परिवर्तन भए, धेरै सिके । त्यही कुरा जुनियरलाई सिकाउन चाहन्छु ।’ उनी भन्छन् ।
जापानमा लामो समय बिताएका सन्तोषको घरेलु लिगबारे केही सुझाव दिन चाहन्छन् ।
‘लिग निरन्तर होस । समय निश्चित होस भन्ने लाग्छ ।’ उनी भन्छन्, ‘कहिले अप्रिल, कहिले जेनवरी लिग गर्ने भनिन्छ । एउटा तालिका बनाए हुन्थ्यो । खेलाडी समेत सोही अनुसार तयारी गर्छ ।’
नयाँ पुस्ताका खेलाडीलाई पनि सन्तोष केही भन्न चाहन्छन् ।
‘नयाँ पुस्ताले कडा मेहनत गर्न पर्छ । आफुमा भर पर्नु पर्छ । कहाँ सम्म जाने भन्ने बिषयले आफैले बुझेर गर्दा राम्रो हुन्छ ।’ उनी भन्छन् ।
‘अहिलेका खेलाडी प्राविधिक रुपमा राम्रा छन् । तर मानसिक र शारीरीक रुपमा छैनन् ।’ उनको बुझाई छ ।
उनी अहिले च्यासलबाट खेलिरहेका छन् । च्यासललाई च्याम्पियन बनाउने उनको लक्ष्य छ । तर उनी धेरै कुरा समयलाई छोड्छन् ।
एक हिसावले सन्तोषलाई लिगका सबै टिम सामान्य लाग्छन् ।
उनी भन्छन्, ‘मछिन्द्र राम्रो टिम बनेको लाग्छ । बल राखेर खेल्ने टिम मछिन्द्र मात्र हो । बाँकी सबै टिम योजना विहिन छन् ।’
‘मछिन्द्र र च्यासलले व्यवस्थित टिम बनाउन खोजेको देखिन्छ ।’ उनी थप्छन् ।
हरेक खेलाडीको एक समय हुन्छ । ६० को दशकमा उनी घरेलु फुटबलका हिरो थिए । समय बदलियो । सन्तोषले समेत विभिन्न आरोह अवरोह ब्यहोरे ।
तर पाँच बर्ष अघि भन्दा सन्तोष अहिले आफुलाई उत्कृष्ट फर्ममा रहेको मान्छन् ।
‘पहिला भन्दा छरितो छु । मानसिक रुपमा परिपक्क छु भन्ने लाग्छ ।’ उनी भन्छन्, ‘जापान गएर धेरै सिके भन्ने लाग्छ ।’
अन्तिममा,
सन्तोषले बनाउन लागेको सय गोलको कीर्तिमानले के अर्थ राख्ला ?
‘खेलाडीको रुपमा ५० गोल हेर्दै गर्दा, यो हासिल गर्छु भन्ने लाथ्यो । नयाँ पिडीले मेरो रेकर्ड तोड्न आए राम्रो हुन्छ ।’ उनी मुस्कुराउँछन् ।